समाचारबिहीबार, माघ १५, २०७१

१० मा विहे, १७ मा तीन सन्तान, अस्पताल थाहा छैन

रासस

प्युठानको दुर्गम क्षेत्र अर्खा गाविसकी नमा पुन १७ वर्षकै उमेरमा दुई सन्तानकी आमा बनिसकेकी छन् भने गर्भमा अर्को वच्चा छ ।

नारीकोटकी यामला विकले १५ वर्ष नपुग्दै पहिलो बच्चा जन्माइन् । श्रीमान् विदेश गएकाले उनको भने दोस्रो बच्चा भएको छैन । जिल्लामा यस्ता नमा र यामला धेरै छन् ।

“विवाह भन्ने के हो थाहै थिएन,” नमाले भनिन्, “दोस्रो बच्चा हुने समयमा बल्ल विवाहको अर्थ जानेजस्तो लाग्यो ।”
विवाहको भनेको थाहा नभएको, आफू स्वयम् अरुको स्याहारमा बस्नुपर्ने बेला नमा तेस्रो बच्चा पाउँदैछिन् ।

अहिलेसम्म अस्पताल नदेखेका उनीहरुलाई परिवार नियोजनबारे समेत थाहा छैन । गर्भवती अवस्थामा कसैले स्वास्थ्य संस्था जानुपर्दछ भनेर भनेको पनि छैन उनीहरुलाई ।

प्यूठान जिल्ला सबैभन्दा बढी बाल विवाह हुने जिल्लामध्येमा पर्ने गरेको जिल्ला बाल कल्याण समितिले जनाएको छ । अत्यधिक बाल विवाह हुन थालेपछि यसका लागि विद्यालय तहसम्म पुगी सचेतीकरण अभियान सञ्चालन गरिएको जिल्ला बाल कल्याण समितिका अध्यक्ष मेघराज भट्टले बताए ।

“कम उमेरमा विवाह र गर्भधारणका कारण महिलामा प्रजनन स्वास्थ्यसम्बन्धी ठूलो समस्या छ, ” उनले भने, “समस्या समाधानका लागि बालविवाह नै रोक्नुपर्छ ।”

सरकारले प्रत्येक वर्ष महिला तथा बालबालिकामा प्रजनन स्वास्थ्यसम्बन्धी चेतना अभिवृद्धिका लागि लाखौँ रुपैयाँ खर्च गरे पनि प्यूठानमा यो सुगम केन्द्रित रहेको सरोकारवालाको बुझाई छ ।

बाल अधिकार अधिकृत सुशीला सिंखडाले सानै उमेरमा प्रेम सम्बन्धमा परी भागी विवाह गर्नाले पनि सानो उमेरमै विवाहको दर बढिरहेको बताइन् ।

राष्ट्रिय जनगणनाको पछिल्लो तथ्याङ्क अनुसार जिल्लामा १९ वर्ष मुनि विवाह गर्नेको सङ्ख्या ६० हजार १२२ छ भने १० वर्ष मुनि विवाह गर्नेको सङ्ख्या ५७९ छ । त्यस्तै १० देखि १४ वर्षभित्र विवाह गर्नेको सङ्ख्या ९ हजार ९०८ छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>