समाचारबिहीबार, माघ १५, २०७१
दुर्घटनाग्रस्त एयर एशियाः विमान सह–चालकले उडाएको खुलासा

दुर्घटनाग्रस्त एयरएशियाको विमानको अंश समुद्रबाट निकालिएपछि । तस्वीर: एएफपी
इन्डोनेशियाबाट सिंगापुर जाँदै गर्दा दुर्घटना भई समुद्रमा खसेको एयर एशियाको विमान क्यूजेड–८५०१ सह–चालक (को–पाइलट) ले उडाइरहेको खुलासा भएको छ ।
इन्डोनेशियाले भर्खरै औपचारिक रुपमा ‘दुर्घटना’ भनेको उक्त विमान १३ पुसमा दुर्घटना भई जाभा समुद्रमा खसेको थियो ।
इन्डोनेशियाली अधिकारीका अनुसार उक्त विमानको डेटा रेकर्डर (ब्ल्याक बक्स) बाट विमान सह–चालक फ्रान्सेली नागरिक रेमी लेसेलले उडाइरहेको खुलेको जनाएका छन् । विमानमा रहेको ब्ल्याक बक्समा उडानका बेला चालक र नियन्त्रण कक्षसँग भएको कुराकानी रेकर्ड भएको हुन्छ ।
खराब मौसमका कारण दुर्घटना परेको भनिएको उक्त विमानमा १६२ यात्रु सवार थियो जसमध्ये अहिलेसम्म ७० जनाको मात्रै शव फेला परेको छ ।
एजेन्सी
