समाचारशनिबार, माघ १७, २०७१
उत्पीडित वर्गका अाँखामा धुलाे छरिदैछ: भट्टराई
एमाअाेवादीका वरिष्ठ नेता बाबुराम भट्टराईले फेरि पनि उत्पीडित वर्गका अाँखामा छारो हाल्ने कोसिस हुदै गरेको बताएका छन् ।
उत्तरी गोरखाको उहिया गाविसको तातोपानीमा आयोजित कृषि तथा पर्यटन प्रवद्र्धन मेलाको उद्घाटन समारोहमा नेता भट्टराईले ‘छिटो संविधान’ को नाममा बहिष्करणमा परेका वर्ग, जाति, क्षेत्र, लिङ्ग, समुदायको हकअधिकार खोसेर यथास्थितिवादी संविधान जारी गर्ने षडयन्त्र भइराखेको बताए ।
उनले त्यस्तो षडयन्त्रविरुद्ध सङ्घर्ष आवश्यक रहेको बताए । पुरानो सामन्ती राजतन्त्रात्मक एकात्मक राज्यसत्तालाई बदलेर सबै धनी–गरिब, किसान–मजदुर, पहाड– हिमाल–तराईमा बस्ने, आर्य–खस, भोट–बर्मेली परिवार, सबै भाषाभाषी, जातजाति, महिला, दलितको साझा देश बनाउने प्रयत्न आफूहरुले गरेको र त्यसैको निम्ति संविधानसभाबाट सबैको अधिकार सुनिश्चित हुने गरी नयाँ नेपाल बनाउने नयाँ संविधान लेख्ने प्रयत्नमा रहेको उनले बताए ।
