समाचारआइतबार, माघ १८, २०७१
संघीयताप्रतिको समर्थन घट्दो
इन्टरडिसिप्लिनरी एनालिस्टस् (आईडीए) ले गरेको मतसर्वेक्षणले संघीयताप्रतिको समर्थन घट्दो रहेको देखाएको छ । आईडीएले १८ माघमा सार्वजनिक गरेको ‘नेपाल समसामयिक राजनीतिक परिस्थिति मतसर्वेक्षण’ ले संघीय राज्य हुनुपर्छ भन्ने मत घट्दो क्रममा रहेको देखाएको हो ।
गत वर्ष ३४ प्रतिशतले संघीय राज्य हुनुपर्छ भन्ने संख्या घटेर यस वर्ष २६ प्रतिशत पुगेको सर्वेक्षणबाट देखिएको छ ।
यस्तै, संघीयतामा जानुहुन्न भन्नेको संख्या पनि घट्दो रहेको आईडीएले जनाएको छ । गत वर्ष संघीयतामा जानुहुन्न भन्ने ३९ प्रतिशतमा रहेको संख्या यस वर्षको मतसर्वेक्षणमा २९ प्रतिशत मात्र देखिएको छ ।
तर, संघीयताबारे थाहा नहुनेको संख्या भने बढेको छ । आईडीएका अनुसार गत वर्ष २७ प्रतिशतले संघीयताबारे अनभिज्ञता व्यक्त गर्ने संख्या यस वर्ष भने ४५ प्रतिशत रहेको छ ।
आईडीएले असोजमा गरेको मतसर्वेक्षण १८ माघमा सार्वजनिक गरेको हो । मतसर्वेक्षणमा ४४ जिल्लाका ३ हजार उत्तरदाता सहभागि रहेको आईडीएका सुधिन्द्र शर्माले जानकारी दिए ।
पाँचै विकास क्षेत्रका जिल्लालाई समेटिएको मतसर्वेक्षणअन्तर्गत १६४ गाविस र २८ नगरपालिकामा सर्वेक्षण गरिएको आईडीएले जनाएको छ । स्थानीयस्तरमा कमसेकम दुई वर्षदेखि बसोबास गर्दै आएका उत्तरदाता १८ वर्ष तथा त्योभन्दा बढी उमेर रहेको शर्माले बताए ।
भूगोलको आधारमा राज्य
मतसर्वेक्षणले संघीय राज्य भूगोलको आधार (हिमाल, पहाड र तराईलाई जोडेर) मा हुनुपर्ने देखाएको छ । भूगोलको आधारमा ५३ प्रतिशत, हालको विकास क्षेत्रको आधारमा १२, जातीयताको आधारमा १२, हिमाल, पहाड, तराई छुट्याएर १० र पहिचान तथा क्षमताको आधारमा ९ प्रतिशत मतदाताले संघीय राज्य हुनुपर्ने उत्तर दिएको आईडीएले जनाएको छ ।
आईडीएका अनुसार संघीयताले देश टुक्रिन्छ भनेर २४ प्रतिशतले उत्तर दिएका छन् । स्थानीय तहमा धेरै विकास हुन्छ भनेर १९ प्रतिशत, नेपाल कमजोर हुन्छ भन्ने १७, जात÷जातीय समूहहरु आपसमा झगडा गर्छन् भनेर १५ र पहिचान भेटिन्छ भनेर ८ प्रतिशतले मत दिएका छन् । ४६ प्रतिशत उत्तरदाताले भने संघीयता लागू भएपछि देशको अवस्था के हुन्छ ? भन्ने प्रश्नमा ‘थाहा छैन’ भन्ने उत्तर दिएको मतसर्वेक्षणमा उल्लेख छ ।
हिन्दू राज्य हुनुपर्छ
मतसर्वेक्षणका अनुसार अधिकांशले हिन्दू राज्य हुनुपर्ने बताएका छन् । हिन्दू राज्य हुनुपर्छ भनेर ७१ प्रतिशत, धर्म निरपेक्ष राज्य हुनुपर्छ भनेर २२ र केही भन्न नचाहने ७ प्रतिशत रहेका छन् ।
हिन्दू राज्य हुनुपर्छ भन्नेले परम्परासँगै गाँसिआएको तथा शुरुदेखि नै नेपाल हिन्दू राज्य रहिआएको (६९ प्रतिशत), नेपाल हिन्दू राष्ट्रको नाममा विश्वमै चिनिएको (६३ प्रतिशत), देश हिन्दू नरहने हो भने धर्मको नाममा द्वन्द्व बढाउँने (१० प्रतिशत), हिन्दू नरहने हो भने अधर्म बढ्ने छ (९ प्रतिशत), धर्म निरपेक्ष हुँदा धर्म परिवर्तन अनियन्त्रित रुपले बढ्छ (५ प्रतिशत) र हिन्दू राज्य हुँदा अल्पसंख्यकहरुको धार्मिक अधिकार संरक्षित थियो (५ प्रतिशत) मा मत दिएको आईडीएले जनाएको छ ।
