समाचारशनिबार, कार्तिक ४, २०६९
दशैंमा झन्डै २० लाखले राजधानी छाड्ने, उपत्यका सुनसान हुँदै
विभिन्न कामका क्रममा राजधानीमा आएर बसेकाहरू दशैं मनाउन घर हिँडेपछि राजधानी बिस्तारै सुनसान देखिन थालेको छ । राजधानीका सडकहरूमा सवारीसाधनको चाप पनि निकै घटेको छ ।
मुख्य नाका थानकोटको नागढुङ्गाबाट मात्रै पछिल्लो एक हप्तामा करिब चार लाख मानिस राजधानीबाट बाहिरिएका छन् । यो नाकाबाट हरेक दिन सातसय बस र चारसय २० माइक्रोबसमा गरी ३८ हजार यात्रुहरू बाहिरिने गरेको थानकोट नागढुङ्गा प्रहरीले जानकारी दिएको छ ।
मुलुकमा रोजागारीको सम्भावना, विकासका पूर्वाधार, शैक्षिक संस्था सबै राजधानी केन्द्रित भएपछि अन्य जिल्लाबाट लाखौंको संख्यामा राजधानीमा थुप्रने क्रम बढेको ४ दशक नाघिसकेको छ । माओवादीले मच्चाएको १० बर्षे हिंसाका क्रममा आफ्नो घरबार त्यागेर काठमाडौंमा थुप्रनेहरुको संख्या झन् ह्वात्तै बढ्यो । गणतन्त्र आएपछिका दिनहरुमा पनि बिकास र शक्तिको विकेन्द्रिकरण नहुँदा यो क्रम अँझै जारी छ ।
