समाचारसोमबार, माघ १९, २०७१
संविधानसभा बैठक २२ माघमा
प्रस्ताव निर्माण समिति गठन भएलगत्तै स्थगित भएको संविधानसभा बैठक २२ माघ गते बस्ने भएको छ । संविधानसभा सचिवालयका महासचिव मनोहरनप्रसाद भट्टराईले १९ माघमा सूचना जारी गर्दै २२ माघ दिउँसो १ बजे संविधानसभा बैठक बस्ने जनाएका छन् ।
एमाओवादीसहितको मोर्चाको बिरोधकाबीच ११ माघमा संविधानसभाले प्रस्ताव निर्माण समिति गठन गरेपछि बैठक स्थगित भएको थियो ।
संविधानका अन्तर्वस्तुमा देखिएका असहमतिलाई प्रश्नावली बनाउन गठित ‘प्रस्ताव निर्माण समिति’ अन्तर्गतको उपसमितिले प्रश्नावलीसहितको मस्यौदा २० माघमा समितिमा पेश गर्नेछ ।
एमाओवादी र मधेशी मोर्चाले ‘प्रस्ताव निर्माण समिति’ खारेजीको माग गरिरहेका छन् भने राप्रपा नेपालले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षतामा प्रश्नावली बनाउन नमिल्ने भनेपछि संविधानसभाबाट बाहिरिने चेतावनी दिएको छ ।
