समाचारसोमबार, माघ १९, २०७१

प्रश्नावली समितिः ‘एमाओवादी मोर्चा छैन, मोर्चाको अजेण्डा छ’

हिमालखबर

एमाओवादी मोर्चा सहभागी नभएपनि प्रश्नावली समितिले संविधानसभाले दिएको समयमै प्रश्नावली वुझाउनेगरी काम अघि बढाइरहेको छ ।

समितिमा सहभागी दलहरुबीच विवादित विषयमा सहमति जुट्न नसकेपनि प्रश्नावली तयार पार्ने काम भने अघि बढाइएको कांग्रेसका मुख्य सचेतक चीनकाजी श्रेष्ठले बताए ।

उनका अनुसार संविधानसभाले दिएको १० दिनभित्रै प्रश्नावली संविधानसभामा वुझाउने तयारी भइरहेको छ । समितिले आफैं कार्यविधि तय गरेर काम अघि बढाइरहेको छ ।

समितिलाई २१ माघभित्र सहमति नजुटे प्रश्नावली पेश गर्न संविधानसभाले निर्देशन दिएको छ । समितिले दलगत धारणा र संविधानसभामा व्यक्त विचारमा आधारित भएर विवादित विषयमा प्रश्नावली बनाउदैछ ।

एमाओवादी मोर्चाले नाम नदिएपछि ७३ सदस्यीय प्रश्नावली समितिमा ४९ जनाले निर्णय गर्दै आएको छ । प्रश्नावली तयार पार्ने क्रममा राष्ट्रिय जनमोर्चाले संघीयतामा असहमति जनाएको छ भने राप्रपा नेपालले धर्म निरपेक्षता, संघीयतालगायत अन्तरिम संविधानले स्थापित गरेको अजेण्डामै असहमति जनाएको छ ।

राप्रपा नेपालले आफ्नो असहमतिलाई प्रश्नावली समितिमा नलगिए प्रक्रियाबाट बाहिरिने चेतावनी दिएपनि जनमोर्चाले प्रक्रियामा सहभागी भएर असहमति जनाउने भएको छ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भने, ‘‘संविधानका अन्तरवस्तु भन्दा पनि देश ठूलो भएकाले संविधान बनाउन हामी अवरोध गर्दैनौं, प्रक्रियामा सहभागी हुन्छौं ।’’

एमाओवादी मोर्चा समितिमा सहभागी नभएपनि उसले राखेको अजेण्डा र व्यक्त गरेको विचारलाई भने समितिले प्रश्नावलीमा समेट्दैछ । श्रेष्ठका अनुसार मोर्चामा आवद्ध दलहरु सहभागी नभएपनि उसले राखेका अजेण्डाहरु समेटेर प्रश्नावली बनाइनेछ ।

प्रश्नावली समितिमा एमाओवादी मोर्चा सहभागी नभएपनि सहमतिका लागि पर्याप्त प्रक्रिया बाँकी रहेकाले प्रश्नावली समितिले काम नरोक्ने श्रेष्ठले बताए ।
उनले भने, ‘‘अझै सहमतिका लाग तीन दिनको समय छ । त्यहाँ नभए मस्यौदामा, जनताको राय लिने क्रममा, राय लिएपछि, विधेयक दर्ता भएसम्म सहमति गर्न सकिने ठाउँ भएकाले मोर्चासँग वार्तासँगै प्रक्रियामा पनि अघि बद्छ ।’’

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>