समाचारमंगलबार, माघ २०, २०७१
फरार सूचीका युवा मृत फेला
प्रहरीको फरार सूचीमा रहेका धादिङका एक युवा मृत फेला परेका छन् । धादिङ दार्खाका श्याम तामाङ धादिङकै रि गाविस–८ कल्सीङखोला जंगलमा मृत भेटिएका हुन् ।
जंगलमा १९ माघमा उनको शव फेला परेको धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश मल्लले जानकारी दिए ।
दार्खा गाविसको रातमाटेमा दुई वर्ष अघि भएको हत्या आरोपमा प्रहरीले श्यामलाई खोज्दै आएको थियो । उनमाथि भीषण सिंखडाको हत्या आरोप थियो ।
त्यही घटनामा हत्या आरोप खेप्दै आएका कैलाश तामाङ र अदित तामाङलाई भने प्रहरीले १७ माघमा रि गाविसको तावलबाट पक्राउ गरेको थियो ।
अन्यलाई पक्राउ गरेपछि भाग्ने क्रममा भिरबाट लडेर उनको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । उनको शव फेला परेको खबर पाएपछि जिल्ला प्रहरी कार्यालयबाट थप प्रहरी घटनास्थलतर्फ पठाइएको धादिङका प्रहरी नायव उपरीक्षक मल्लले बताए ।
सानुबाबु तिमिल्सिना, धादिङ
