समाचारमंगलबार, माघ २०, २०७१
विपक्षीले राजदूतको सुनुवाई बहिस्कार गर्ने
एमाओवादी नेतृत्वको संघीय लोकतान्त्रिक गठबन्धनले २१ माघमा बस्ने संसदीय सुनुवाई समितिको बैठक बहिस्कार गर्ने निर्णय गरेको छ ।
संविधान निर्माण बहुमतीय प्रक्रियामा प्रवेश गरेको विरोधमा सडक आन्दोलनको घोषणा गरेको गठबन्धनले संविधानसभा र व्यवस्थापिका संसद मातहतका कुनै पनि समितिका बैठकमा सहभागी नहुने निर्णय यसअघि नै गरिसकेको छ ।
सुनवाई समितिको २१ माघको बैठकमा भारत र अमेरिकाको राजदूतमा सिफारिस भएका दीपकुमार उपाध्याय र अर्जुन कार्कीको सुनुवाई गर्ने कार्यसूची छ ।
“राजदूतहरुको सुनुवाईमा हामी सहभागी हुँदैनौ,” गठबन्धनको घटक राष्ट्रिय जनमुक्ति पार्टीका सभासद् शिवलाल थापाले जानकारी दिए,“२२ माघको संविधानसभा बैठक पनि बहिस्कार गर्ने बारेमा बैठकमा छलफल भए पनि त्यसबारे अझै टुंगो लागेको छैन ।”
उनले २१ माघमा बस्ने ३० दलीय मोर्चाको बैठकमा संविधानसभा बैठक बहिस्कार गर्ने वा नगर्ने विषयमा टुंगोमा पुगिने बताए ।
गठबन्धनको बैठक २० माघ अपराह्न सिंहदरबारमा बसेको थियो ।
