समाचारशनिबार, कार्तिक ४, २०६९
घूस माग्ने मन्त्रीलाई राजीनामा गर्न प्रमको निर्देशन
म्यानपावर दर्ताको विषयमा खुलमखुल्ला घुस मागेको देखिएकाले बेल्वासेलाई तत्काल पद त्याग्न आफूले निर्देशन दिइसकेको प्रधानमन्त्री डा बाबुराम भट्टराईले बताए ।
उनले भने, “भ्रष्टाचारको अभियोग लागेपछि नैतिकताको हिसाबले पनि राजीनामा दिनुपर्दछ, मैले श्रममन्त्री बेल्वासेलाई राजीनामा दिन भनेको छु ।” प्रधानमन्त्री डा भट्टराईले नेकपा मालेका महासचिव सिपी मैनालीलाई पनि तत्काल बेल्वासेलाई फिर्ता गर्न आग्रह गरेको समेत बताए । बेलबासे नेकपा मालेका पोलिटब्यूरो सदस्य पनि हुन् ।
“नैतिक हिसाबले राजीनामा दिनुहुन्छ भने राम्रो हुन्छ, होइन भने उहाँलाई हटाउनुपर्ने हुनसक्छ,” प्रधानमन्त्रीले भने ।
श्रममन्त्री बेल्वासेले म्यानपावर दर्ताको सम्बन्धमा खुलमखुल्ला घुस मागेको समाचार केही सञ्चार माध्यममा प्रकाशित भएका थिए ।
भ्रष्टाचारको अभियोगमा मन्त्रीमाथि कारबाही हुन लागेको यो दोस्रो पटक हो, यसअघि सरिता गिरीलाई पनि भ्रष्टाचारको अभियोगमा प्रधानमन्त्रीले बर्खास्त गरेका थिए । रासस

