समाचारबुधबार, माघ २१, २०७१
उपाध्याय र कार्की राजदूतमा अनुमोदित

दीपकुमार उपाध्याय (बायाँ) र अर्जुनकुमार कार्की
व्यवस्थापिका–संसदको संसदीय सुनुवाई विशेष समितिले अमेरिका र भारतका लागि प्रस्तावित दुई राजदूतहरुको नाम अनुमोदन गरेको छ ।
समितिको २१ माघमा बसेको बैठकले अमेरिकाका लागि प्रस्तावित अर्जुनकुमार कार्की र भारतका लागि प्रस्तावित दीपकुमार उपाध्यायको नाम सुनुवाइपछि अनुमोदन गरेको हो ।
लामो समयदेखि ती दुई मुलुकमा रिक्त राजदूतमा २ माघको मन्त्रिपरिषद् बैठकले कार्की र उपाध्ययालाई प्रस्ताव गरेको थियो ।
समितिको बैठकमा सांसदहरुले दुवैलाई राष्ट्रको स्वाभिमान, राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डतालाई ध्यानमा राखी कूटनीतिक मर्यादामा रही भूमिका निर्वाह गर्न सुझाव दिएका थिए ।
प्रस्तावित दुवै राजदूतमध्ये कार्कीका सम्बन्धमा संसदीय समितिमा तीन उजुरी परेका थिए भने उपाध्यायको सम्बन्धमा कुनै उजुरी परेको थिएन ।
सुनवाइका क्रममा दुवैले आफ्नो बुद्धि र विवेकले भ्याएसम्म मुलुकको हितमा काम गर्ने बाचा गर्दै कूटनीतिक मर्यादामा रहेर काम गर्न कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता गरेका थिए ।
