समाचारबुधबार, माघ २१, २०७१
प्रश्नावली बनाउन पाँच दिन समय माग
संविधानसभा अन्तर्गतको प्रस्ताव निर्माण समितिले आफ्नो कार्यावधि पाँच दिन थप गर्न माग गरेको छ । संविधानका अन्तर्वस्तुमा रहेका असहमतिका विषयमा प्रश्नावली सहितको प्रस्ताव तयार पार्ने काम बाँकी नै रहेको भन्दै प्रस्ताव समितिले २१ माघमा कार्यावधि पाँच दिन थप्न माग गरेको हो ।
कार्यावधि पाँच दिन थप गर्न संविधानसभालाई आग्रह गर्ने निर्णय भएको समितिले जनाएको छ । समितिको कार्यावधि थपिएको मितिसम्म प्रश्नावली सहितको प्रस्ताव तयार पार्न गठित उपसमितिको म्याद रहने पनि समितिले स्पष्ट पारेको छ ।
संविधानसभाले ११ माघमा प्रस्ताव निर्माण समितिको गठन गरेको थियो । समितिले प्रश्नावली तयार पार्नका लागि ५ दिनको म्याद पाएको थियो ।
