समाचारबुधबार, माघ २१, २०७१

सहमतिका लागि संवाद अघि बढाउने एमालेको निर्णय

हिमालखबर

तस्वीर: आनन्दराम डंगोल

तस्वीर: आनन्दराम डंगोल

नेकपा एमालेले प्रस्ताव निर्माण समितिको कामलाई प्रभावकारी बनाउँदै विपक्षी दलहरुसँग सहमतिको खोजीका लागि वार्ता र संवादलाई सँगसँगै अघि बढाउने निर्णय गरको छ ।

एमाले स्थायी समितिको २१ माघमा बसेको अनौपचारिक बैठकले संविधानसभामा अल्पमतमा रहेका दल (एमाओवादी नेतृत्वको मोर्चा) लाई संविधानका अन्तरवस्तुमा सहमति कायम गर्न वार्ता र संवादमा आउन यस अघि गरिएको आह्वानलार्इं स्मरण गराउने निर्णय समेत गरेको छ ।

पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले नेपाली जनतालाई संविधानसभाबाट यथाशिघ्र संविधान दिने र त्यसका लागि सहमति खोज्ने मनसाय अल्पमत पक्षको रहेको हो भने सबै खाले आन्दोलन, द्वन्द्व र अन्तरविरोध चर्काउने गतिविधि रोकेर वार्तामा आउनुपर्ने निष्कर्षसमेत निकालेको छ ।

बैठकपछि उपाध्यक्ष भीम रावलले संविधानसभा प्रस्ताव निर्माण समितिमा छलफलका अन्तरवस्तु कसरी अघि बढेको भन्नेमा केन्द्रित रहेर छलफल र विचारविमर्श भएको जानकारी दिए ।

उनले भने. “एमाले सहमतिको खोजीमा छ, सहमतिबाटै अघि बढ्न चाहन्छ तर त्यसो हुन सकेन भने संविधानसभा निर्वाचनको समयमा सबै राजनीतिक दलले जनतासँग प्रतिबद्धता गरेअनुरुप प्रक्रियामा गएर छिनोफानो गर्नुपर्छ, यसमा कसैले विमति गर्न हुँदैन ।”

“प्रस्ताव निर्माण समितिले काम आरम्भ गरको छ, यसले काम अघि बढाओस्, संविधानसभा कामविहीन हुने, सभासद् भत्ता खाएर बस्ने, जनताको चाहनाअनुसार संविधान लेखनको काम अघि बढ्न नसक्ने गतिविधिले देश, जनता र लोकतन्त्रको हित नगर्ने भएकाले सहमतिको खोजीलाई कायममै राखेर प्रक्रिया अघि बढाइएको हो”–रावलले भने ।

अघिल्लो संविधानसभाको पूरै अवधि र गएको एक वर्षदेखि एमाले र नेपाली काँग्रेससहितका दलले संविधान लेखनका लागि सहमतिको अथक प्रयास गरिए पनि परिणाम हात लाग्न नसकेको वास्तविकतालाई सबैले बुझ्न आवश्यक रहेको उपाध्यक्ष रावलको भनाई थियो ।

गठबन्धनको निर्णयबारे बैठकमा कुनै छलफल भएन भन्ने प्रश्नको जवाफमा सचिव योगेश भट्टराईले भने, यो छलफल गर्न लायक विषय नै नभएकोले यसबारेमा स्थायी समितिमा कुनै चर्चा नै भएन।

एमाओवादी र मधेशकेन्द्रित दलहरु सहभागी विपक्षी मोर्चाको आजैको बैठकले एमाले अध्यक्ष केपी ओलीको मानसिक स्वास्थ्यको परिक्षण गराउनु पर्ने निर्णय गरेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>