समाचारबिहीबार, माघ २२, २०७१
बाँके निकुञ्जमा पाटे बाघको गणना
-केशव राना, बाँके

२६ डिसेम्बर २०१३ को दिउँसो दुई बजेर १५ मिनेट २० सेकेन्डमा बाँके राष्ट्रिय निकुञ्जभित्रको खहरे खोलामा देखिएको रोयल बेङ्गल टाइगर । तस्वीर सौजन्यः बाँके राष्ट्रिय निकुञ्ज
बाँके राष्ट्रिय निकुञ्जमा पाटे बाघको गणना गर्न शुरु भएको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्र तथा कम्दी जैविक मार्गमा क्यामरा ट्रयापिङ मार्फत गणना शुरु गरिएको हो ।
बाघ गणनाका लागि तीन ब्लकमा छुट्याइएको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्तले जानकारी दिए । उनका अनुसार करिब ५० दिनमा बाघको गणना भइसक्ने छ ।
पहिलो ब्लकमा अहिले गणनाको काम चलिरहेको छ । त्यसका लागि ६८ वटा ग्रिडमा क्यामरा जडान गरिएको पन्तले बताए ।
गणनाको क्रममा क्यामराले १ सेकेन्डमा ३ वटासम्म फोटो खिच्ने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका इकोलोजिष्ट गोपाल भट्टराईले जानकारी दिए ।
निकुञ्जले बाघको गणनासँगै आहारजन्य प्रजातीको पनि अनुगमन गर्ने जनाएको छ । सन् २०१३ मा भएको अनुगमनमा २ वटा भाले र एउटा पोथी पाटे बाघ क्यामरा ट्रयापिङ्गमा परेका थिए ।
