समाचारबिहीबार, माघ २२, २०७१
मन्त्रिपरिषद बैठक: खेलाडीहरुलाई प्रोत्साहन पुरस्कार
सरकारलले विभिन्न खेलमा सहभागी खेलाडी र प्रशिक्षकलाई प्रोत्साहन पुरस्कार दिने निर्णय गरेको छ ।
सिंहदरबारमा २२ माघमा बसेको मन्त्रिपरिषद् बैठकले थाइल्यान्डको फुकेतमा सम्पन्न चौथो एशियाली बीच खेलमा कास्य पदक प्राप्त गर्न सफल भगवती माझीलाई र मलेशियामा सम्पन्न आइसिसी लिग डिभिजन थ्रीमा भाग लिएको नेपाली राष्ट्रिय टोलीका सहायक प्रशिक्षकलाई प्रोत्साहनस्वरुप रु एक/एक लाख दिने निर्णय गरेको छ ।
त्यसैगरी नेपालमा सम्पन्न महिला भलिबल च्याम्पियनसिप, श्रीलङ्कामा भएको फुटबल खेलमा भाग लिएका नेपाली खेलाडीलाई जनही रु २५ हजार प्रोत्साहनस्वरुप सहयोग गर्ने निर्णय भएको सरकारका प्रवक्ता मीनेन्द्र रिजालले जानकारी दिए ।
माघीका लागि रु पाँच लाख
मन्त्रिपरिषद् बैठकले माघी महोत्सव मनाएका थारु कल्याणकारी सभा र नेपाल मगर सङ्घलाई रु पाँच/पाँच लाख तथा तमु गुरुङ सङ्ग्रहालय भवन निर्माणका लागि ‘तमु हेल छोजधीं गुरुङ राष्ट्रिय परिषद्’लाई रु २५ लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।
१७ जना विशिष्ट श्रेणीमा बढुवा
सरकारले आज विभिन्न उच्चपदस्थ कर्मचारीलाई विशिष्ट श्रेणी सचिवमा बढुवा गरी पदस्थापन गरेको छ ।
बैठकले सहसचिवहरु सुरेशप्रकाश आचार्य, शरदराज विष्ट, गजेन्द्रकुमार ठाकुर, लक्ष्मणप्रसाद मैनाली, रामकुमार आचार्य, राजन खनाल, नवराज भण्डारी र श्रीधर सापकोटालाई विशिष्ट श्रेणीमा बढुवा गरी सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा पदस्थापन गरेको छ ।
त्यस्तै विजयकुमार मल्लिकलाई मध्यपश्चिमाञ्चल र दिनेशकुमार थपलियालाई पश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालय, ईश्वरीप्रसाद पौडेललाई जल तथा ऊर्जा आयोग, रमेशकुमार शर्मालाई राष्ट्रिय सतर्कता केन्द्र, टङ्कमणि शर्मालाई सार्वजनिक खरिद अनुगमन कार्यालय, प्रेमकुमार राईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग र खुमराज पुञ्जालीलाई शान्ति तथा पुनःनिर्माण मन्त्रालयका सचिवमा बढुवा गरी पदस्थापन गरेको छ ।
सरकारले लेखापरीक्षण सेवाबाट ईश्वरराज श्रेष्ठलाई सचिवमा बढुवा गरी महालेखा परीक्षकको कार्यालय तथा सुनिलबहादुर मल्ललाई बढुवा गरी सूचना तथा सञ्चार मन्त्रालयमै पदस्थापन गरेको मन्त्री रिजालले जानकारी दिए ।
सरकारले नेपाल विविध सेवा राजपत्राङ्कित तृतीय श्रेणीको महिला विकास अधिकृतको न्यूनतम शैक्षिक योग्यता तोक्नाका साथै निजामती कर्मचारीका सन्ततिलाई छात्रवृत्ति उपलब्ध गराउने निर्देशिका २०७१ पनि पारित गरेको छ ।
त्यसैगरी अन्तरदेशीय धर्मपुत्र/धर्मपुत्री व्यवस्थापन समितिका अध्यक्षमा महेन्द्र श्रेष्ठ र जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको सञ्चालक समितिका अध्यक्षमा अर्को व्यवस्था नहुन्जेलका लागि वनस्पति विभागका महानिर्देशक यमबहादुर थापालाई नियुक्त गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री रिजालले बताए ।
