समाचारबिहीबार, माघ २२, २०७१

संविधानसभा छोडेर आन्दोलन गर्ने सहमति कतै भएको थिएन: ओली

हिमालखबर

kp oliनेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विनाशको बाटो नहिँडी संविधान निर्माण कार्यमा संलग्न हुन एमाओवादीलाई आग्रह गरेका छन् ।

प्रेस चौतारी नेपालले २२ माघमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले बाह्रबुँदे सहमति र बृहत् शान्ति सम्झौतामा संविधानसभा छाडी आन्दोलन गर्ने सहमति नभएकोतर्फ एमाओवादी र मधेशकेन्द्रित दलरहरुको ध्यानाकर्षण गराए ।

उनले सहमति र संविधान निर्माणको प्रक्रियामा आउन आग्रह गर्दै भने,“यो संविधानसभा संविधान नदिइकन घोसेमुन्टो लाएर असफल हुने छैन, हामी त सहमतिका लागि लचिलो छौँ ।”

हिंसा मात्रै सत्य र बाँकी जगत् मिथ्या ठान्ने एमाओवादीले देशमा हुँडलो र रक्तपात मच्चाउन आन्दोलनको धम्की दिएको आरोप लगाउँदै ओलीले धम्की र भ्रमका भरमा राजनीतिमा लागेका एमाओवादीका कार्यकर्ता आफ्नो पार्टीमा आएमा सम्मान र सुरक्षा दिने घोषणा पनि गरे ।

ओलीले भने, “आवेशको ज्वरो चढेका पार्टीका साथीहरुलाई सिटामोल खान र पानीपट्टी लगाउन भन्छु, धेरै दाह्रा किट्यो भने बङ्गारा खिइन्छ, त्यस कारण मान्छेका टाउका फुटाउने र खुट्टा भाँच्ने उत्तेजनापूर्ण अभिव्यक्ति नदिन आग्रह गर्छु ।”

५ माघमा एमाओवादीका अध्यक्षसँग अत्यन्त सुमधुर कुरा भएको सन्दर्भ कोट्याउँदै उनले भने, “मैले त सहमति हुने विश्वास गरेको थिएँ, दिउँसोको मधुर मुस्कान त राति छातीमा माइक प्रहार गर्ने घटनामा परिणत भयो ।”

सो अवसरमा नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले दोस्रो संविधानसभाको निर्वाचनमा आफू सानो दल भएकै आधारमा एमाओवादीले संविधान निर्माणको प्रक्रियालाई रोक्नु लोकतान्त्रिक नहुने बताउँदै भने, “जनताको चाहना संविधान ल्याउनुपर्छ भन्ने छ, त्यसमा हामीले अब खेलबाड गर्न मिल्दैन, जनमतको सम्मान गर्ने हो भने अब शीघ्र संविधान दिन सक्नुपर्छ ।”

एमालेका सचिव प्रदीपकुमार ज्ञवालीले एमाओवादी नेतृत्वको मोर्चा आन्दोलनका उपलब्धिलाई संस्थागत गर्न संविधान बनाउन छाडेर बहिष्कार र तिरस्कार गर्दै पश्चगमन र घृणाको बाटो हिँड्न थाले पनि आफूहरुले भाग्न नदिने बताएका थिए ।

चौतारी पुरस्कार कोइराला, पोखरेल, शेर्पा र जिएमलाई
प्रेस चौतारीले आफ्नो स्थापना दिवसका अवसरमा पत्रकारिता तथा आमसञ्चारका क्षेत्रमा भूमिका निर्वाह गर्ने विभिन्न पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।

घोषित पुरस्कारमध्ये ‘हृदयचन्द्रसिंह प्रधान स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार तीर्थ कोइरालालाई, ‘अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार गोविन्द पोखरेललाई, ‘वीरेन्द्र साह युवा क्रियाशील पत्रकारिता पुरस्कार’ सङ्खुवासभा युवा पत्रकार छेटु शेर्पा र ‘डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार’ रोल्पका ईश्वरी जिएमलाई दिइने निर्णय भएको छ ।

यस्तै चौतारीले दार्चुला, दाङ, कास्की, चितवन र मोरङ जिल्लालाई उत्कृष्ट शाखा घोषणा गरेको छ । ती पुरस्कार आगामी प्रेस स्वतन्त्रता दिवस (मे ३) मा प्रदान गरिनेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>