समाचारआइतबार, कार्तिक ५, २०६९
फूलपाती आज
दुर्गा भवानीको प्रतिमा राखिएको दशैंघरमा फूलपातीको शुभसाइतका रूपमा उखु, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल तथा अन्य नयाँ पालुवासमेत विधिपूर्वक भित्र्याइन्छ ।
काठमाडौंमा फूलपाती गोरखा दरबारबाट धादिङको जीवनपुर हुँदै काठमाडौंको जमलसम्म ल्याउने परम्परा छ । गुरुज्यूको पल्टन, नेपाली सेना, नेपाल प्रहरी, निजामती सेवाका उच्चपदस्थ अधिकारीहरू, आशागुर्जा टोली, ब्यान्डबाजा, पञ्चेबाजा, सिङ्गारिएका कल्स्यौडीहरू र सांस्कृतिक नाचगानसहितको लावालस्करले जमलमा ल्याइएको सो फूलपातीलाई हर्षबढाइँका साथ हनुमानढोकामा भित्र्याउने गर्दछन् ।
घटस्थापनाका दिनदेखि नै दशैं शुरु हुने भए पनि दशैंको विशेष चहलपहल भने फूलपातीका दिनदेखि घरघरमा शुरु हुन्छ ।
फूलपातीदेखि सरकारी कार्यालय बन्द हुने भएकाले अध्ययन, व्यवसायलगायत विभिन्न कारणवश आफ्नो मूलघरबाट टाढा रहेका व्यक्तिहरू परिवारसँग बसेर दुर्गा भवानीको पूजा गर्न, आफ्ना मान्यजनबाट टीका थाप्न र आशिर्वाद लिन आ–आफ्ना घर फर्किरहेका छन् ।
गाउँघरमा फूलपातीदेखि हालिने लिङ्गेपिङ र रोटेपिङले दशैंको रौनकलाई अझ बढाउने गरेका छन् ।
