समाचारशनिबार, माघ २४, २०७१
केही दिनमै ‘ब्रेक थ्रु’ हुनेछ: प्रधानमन्त्री कोइराला
प्रधानमन्त्री सुशील कोइरालाले नयाँ संविधानबाट सबैको अधिकार सुनिश्चित हुने भएकोले विपक्षी दलहरु आन्दोलन छोडेर संविधान लेखन प्रक्रियामा आउने विश्वास व्यक्त गरेका छन् ।
“केही दिनभित्रमा संविधान लेखनका विषयमा दलका बीचमा देखिएका समस्याका सबै बादल हट्ने छन्, अविश्वास र तिक्तता हट्छ, ब्रेक थ्रु हुनेछ, हामी वार्तामा बस्नेछौं,” प्रधानमन्त्री कोइरालाले भने ।
नेपाल हिमालय सीमापार वाणिज्य सङ्घको पन्ध्रौँ साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री कोइरालाले बाह्रबुँदे हस्ताक्षर गरेका राजनीतिक दल नै लोकतन्त्रलाई रक्षा गर्ने शक्ति भएको बताए ।
उनले भने, “वार्तामा आउन प¥यो प्रचण्डजी भनेर मैले उहाँकै निवासमा पुगी आग्रह गरिसकेको छु, टेलिफोनमा कुराकानी भएका छन्, उहाँले हुन्छ नी ! भन्नुभएको छ, म आशावादी छु एक/दुईदिनभित्रमा वार्ता सुरु हुन्छ, वार्तामा नआई कसैलाई सुखै छैन, वार्ताभन्दा अन्यत्र कहाँ जाने ?”
उनले जनआन्दोलनबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रको उपलब्धिलाई संस्थागत गर्न छिटो संविधान चाहिएकाले वार्ता र संवादबाट निकास खोज्नु पर्नेमा जोड दिए ।
