समाचारशनिबार, माघ २४, २०७१
परिवर्तनलाई संस्थागत गर्न चाँडै संविधान: पापड
शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड)ले शान्ति प्रक्रियालाई पूर्णतामा पुर्याउन छिटोभन्दा छिटो संविधानसभाबाट संविधान जारी गर्नुको विकल्प नरहेको बताएको छ ।
कानून व्यवसायी, पत्रकार, इन्जिनियर, चिकित्सक, प्राध्यापक तथा शिक्षकका लागि नेतृत्वदायी पेसागत सङ्गठन र तिनको साझा मञ्च पापडले २४ माघमा विज्ञप्ति जारी गरी लोकतन्त्र, सङ्घीयता समावेशीताजस्ता परिवर्तनका एजेन्डालाई संस्थागत गर्न प्रमुख राजनीतिक दलहरुबीच न्यूनतम् समझदारी र सहकार्य हुनुपर्नेमा जोड दिएको छ ।
राजनीतिक दलले जनतासमक्ष गरेको बाचा पूरा गर्न नसकेकामा लज्जित भई आत्मसमीक्षा गरेर संविधानसभाबाट चाँडोभन्दा चाँडो संविधान दिने मूल दायित्वमा लाग्नुपर्नेमा दलका शीर्ष नेताहरु नै असंसदीय भाषा शैलीमा आरोप–प्रत्यारोपमा उत्रिएर नेपाली जनताको भावना र मुलुककै गरिमामा चोट पुर्या उन उद्यत् भएकामा पापडले अत्यन्तै दुखित र गम्भीर भएको बताएको छ ।
विज्ञप्तिमा भनिएको छ, “दलहरुले सडक सङ्घर्ष हैन संविधानसभामै केन्द्रित हुने गरी तत्काल संवादको प्रक्रिया सुरु गरेर संवादकै माध्यमबाट निकास पहिल्याई छिटोभन्दा छिटो सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको समावेशी संविधान जारी गर्ने प्रक्रियामा लाग्नु पर्दछ ।”
रासस
