समाचारआइतबार, माघ २५, २०७१
विश्वासको वातावरण बनाए वार्तामा बस्ने: अध्यक्ष दाहाल
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सत्तापक्षबाट सहमतिकै आधारमा संविधान निर्माण गर्ने विश्वासिलो वातावरण बनाए आफूहरु वार्तामा बस्न तयार रहेको बताएका छन् ।
२५ माघमा सिरहा सदरमुकाम आइपुगेका दाहालले सञ्चारकर्मीसँग कुरा गर्दै भने, “हामी वार्तामा जाँदैनौँ भनेका छैनौँ, वार्ताको वातावरण बने हामी वार्तामा बस्न तयार छौँ ।”
सहमतिकै आधारमा संविधान बनाउँछौँ भनेर सरकारको तर्फबाट प्रधानमन्त्रीले वक्तव्यमार्फत भन्नुपर्यों वा सरकारको तर्फबाट त्यो आधारमा पत्र काटेमा वार्ताको वातावरण बन्ने उनको भनाई थियो ।
राजनीतिक दलहरुबीच केही मतमतान्तरहरु भए पनि अन्तिममा सहमतिमा पुग्ने नेपाली राजनीतिको विगतको परम्परा नै देखिएको उल्लेख गर्दै उनले वर्तमान गतिरोध पनि सहमतिबाटै टुङ्गिने दाबी गरे ।
यसैबीच प्रधानमन्त्री सुशील कोइरालाले विपक्षी दलहरुलाई वार्ताका लागि औपचारिक रुपमै आह्वान गरेका छन् ।
