समाचारआइतबार, माघ २५, २०७१
पूर्व प्रहरी महानिरीक्षक खरेललाई सफाइ
भ्रष्टाचारको अभियोग मुद्दा खेप्दै आएका पूर्व प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलले १२ वर्षपछि सर्वोच्च अदालतबाट सफाइ पाएका छन् ।
प्रधानन्यायाधीश रामकुमारप्रसाद साह र न्यायाधीश दीपकराज जोशीको संयुक्त इजलासले विषेश अदालतले गरेको फैसला सदर गर्दै उनलाई सफाइ दिएको हो ।
पूर्व प्रहरी महानिरीक्षक खरेलले रु १ करोड ६९ लाख गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेकामा विशेष अदालतले उनको आयआर्जनभन्दा रु २ लाख ६८ हजार कम देखिएकाले भ्रष्टाचार गरेको भन्न नमिल्ने भन्दै सफाइ दिएको थियो ।
विषेश अदालतको फैसलापछि अख्तियारले २०५९ असोजमा सर्वोच्च अदालतमा पुनरावेदन गरेको थियो भने पूर्व प्रहरी महानिरीक्षक खरेलले पनि बेचेको जमिन, बैंकबाट प्राप्त हुने ब्याज, छोरीको कमाइको हिसाव, कृषिबाट भएको आय र पैत्रिक सम्पतिको जायजेथा आयआर्जनमा समावेश नगरेको भन्दै पुनरावेदन गरेका थिए ।
रासस
