समाचारसोमबार, माघ २६, २०७१
सकेसम्म सहमतीय प्रक्रियाबाटै संविधानः ओली
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सकेसम्म सहमतीय प्रक्रियाबाट नयाँ संविधान जारी गरिने बताएका छन् । २६ माघमा आयोजित सम्पादक तथा पत्रकारहरुसँगको अन्तर्क्रियामा उनले दोस्रो संविधानसभालाई असफल हुन नदिन एमाले लचिलो र सुझबुझका साथ आन्तरिक एकतासहित अघि बढिरहेको बताए ।
उनले भने, “एमाले वार्ता र संवादकै पक्षमा छ, तर देशलाई टुक्र्याउन नहुने लगायत केही आधारभूत विषयमा ऊ अडान त्याग्न तयार छैन ।”
ओलीले राज्य पुनःसंरचनामा जाँदा तराई र पहाडलाई पूर्णरुपमा अलग गर्ने पक्षमा आफ्नो पार्टी नभएको र तराईलाई पहाडसँग मिसिन नदिने कुरा देश हितमा नरहेको धारणा दोहोर्याए । जातीय पहिचानका आधारमा प्रदेश नामकरण गर्दै जातजातिका र तिनका जीवनयापनका समस्या समाधान नहुनेमा पार्टी स्पष्ट रहेको उनको भनाइ छ ।
उनलेभ भने, “हामी जनताको म्याण्डेट अनुसार संविधान जारी गर्ने पक्षमा छौ, अल्पमतले मात्रै त संविधान जारी हुँदैन, त्यसका लागि दुई तिहाइ वा अधिकतम सङ्ख्या चाहिन्छ, ६०१ सभासद्कै बीचमा सहमति भए पनि प्रक्रियामा त जानैपर्छ ।”
विगतमा एमाओवादीले लडाकुलाई बजेट माग गर्दा संसद् अवरोध गरेको सन्दर्भ उल्लेख गर्दै ओलीले संविधानसभाको गतिरोधमा पनि रकम माग गरेको भन्ने आफ्नो अभिव्यक्तिलाई सञ्चारमाध्यमले अतिरञ्जित गरेको स्पष्ट पारे ।
रासस
