समाचारसोमबार, माघ २६, २०७१
श्रीराम सुगर मिल्समा तालाबन्दी
उखु बिक्री वापतको रु.५३ करोड दिन आनाकानी गरेको भन्दै रौतहटका किसानले श्रीराम सुगर मिल्समा तालाबन्दी गरेका छन् । गत वर्ष नै उखु बिक्री गरे वापतको रकम अझै नपाएपछि किसानले २६ माघमा रौतहट गरुडास्थित श्रीराम सुगर मिल्समा तालाबन्दी गरेका हुन् ।
आफ्नो रकम चुक्ता गर्न पटकपटक ताकेता गर्दा पनि मिलले आलटाल गर्ने गरेकाले बाध्य भएर तालाबन्दीमा उत्रिएको उखु उत्पादक संघ रौतहटका संयोजक अशोकप्रसाद यादवले बताए । उनका अनुसार चिनी मिलले किसानलाई दिइने भुक्तानीको तालिका पटकपटक संशोधन गर्दै आएको थियो ।
चिनी मिललाई बेचेको उखुको मूल्यमध्ये अझै रु. ५३ करोड बाँकी रहेको किसानको भनाइ छ । यो वर्ष भने किसानले११ लाख क्वीन्टल उखु मिललाई बेचिसकेका छन् ।
मिलको मूलगेटमा तालाबन्दी गरे पनि उखु क्रसिङलाई भने कुनै अवरोध नपुग्ने गरी आन्दोलनलाई अगाडि बढाइएको संयोजक यादवको भनाइ छ ।
सञ्जय साह, रौतहट

