समाचारसोमबार, माघ २६, २०७१
सभाध्यक्षलाई बुझाइयो प्रश्नावली
संविधानसभाको प्रस्ताव निर्माण समितिले संविधान निर्माणका क्रममा देखिएका विभिन्न विवादित विषयमा तयार पारेको प्रश्नावलीसम्बन्धी प्रतिवेदन सभाध्यक्ष सुवास नेम्वाङलाई हस्तान्तरण गरेको छ । प्रस्ताव समितिका ज्येष्ठ सदस्य कुलबहादुर गुरुङले २६ माघमा सभाध्यक्ष नेम्वाङलाई विवादित विषयमा तयार पारिएको प्रतिवेदन हस्तान्तरण गरे ।
प्रतिवेदन हस्तान्तरण गर्दै गुरुङले २३२ प्रश्नसहितको प्रतिवेदन पेश गरेपछि दलबीच संवादका लागि समेत मार्ग प्रशस्त भएको बताए ।
संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले २७ पुसमा संविधानसभामा पेश गरेको असहमतिको प्रतिवेदन, अघिल्लो संविधानका समितिले तयार पारेको प्रतिवेदन, संविधानसभामा सभासद्ले राखेको धारणाका आधारमा प्रस्ताव समितिले प्रश्नावली तयार पारेको हो ।
दलबीच संविधानका विवादित विषयमा सहमति हुन नसकेकाले ११ माघमा संविधानसभा बैठकले ७३ सदस्यीय प्रस्ताव निर्माण समिति निर्माण गरेको थियो । समितिमा नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा नेपाल, राप्रपा, नेकपा माले, नेकपा संयुक्त लगायत ११ दल सम्बद्ध सभासद् सहभागी थिए ।
