समाचारमंगलबार, माघ २७, २०७१
एमाओवादीका मधेशी नेताहरुले पत्रकार सम्मेलन गर्दै
मधेशका एमाओवादी नेताहरुले पार्टी अध्यक्ष पुष्पकमल दाहालप्रति असन्तुष्टि जनाउँदै पत्रकार सम्मेलन आयोजना गरेका छन् ।
पार्टी नीति बिपरीत विवादास्पद छबिका क्यारक्याल लामालाई सभासद् बनाएको भन्दै २७ माघमा उनीहरुले पत्रकार सम्मेलनको आयोजना गरेका हुन् ।
सभासद् तथा एमाओवादी नेता प्रभु शाहले हिमालखबरसँग भने, ‘‘पार्टी नीति बिपरीत निर्णय भएकाले पत्रकार सम्मेलन आयोजना गरिएको हो ।’’ उनका अनुसार साढे ३ बजे सिंहदरवारमा पत्रकार सम्मेलन आयोजना गरिएको छ ।
‘‘पार्टीले मधेशी दलित कोटामा लामालाई सभासद् बनाएको छ, यो निर्णय विरुद्धमा हामी धेरै जनाले विरोध गरेका छौं’’, शाहले भने ।
२५ माघमा एमाओवादीले लामालाई सभासद् नियुक्त गरेको थियो । झलनाथ खनाल प्रधानमन्त्री हुँदा अर्थराज्य मन्त्री रहेका लामासँग विदेशको चीनको नागरिकता र भारतको पासपोर्ट भएको आरोप लागेर विवादमा तानिएपछि मन्त्रीबाट हटाइएका थिए ।
