समाचारबुधबार, माघ २८, २०७१
बेलायती राजदूतले अवकाश लिने
बेलायती राजदूत एन्ड्रयू जेम्स स्पार्क्सले अर्को महीनादेखि सेवाबाट अवकाश लिने भएका छन् । परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डे र परराष्ट्र सचिव शंकर बैरागीलाई २८ माघमा भेटेर राजदूत स्पार्क्सले नेपालमा आफ्नो कार्यभार आगामी महीना पूरा गर्ने जानकारी दिएका हुन् ।
परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ,“स्पार्क्सले तीन तीन मुलुकमा राजदूत पदको जिम्मेवारी सहित बेलायती परराष्ट्र सेवामा ३० वर्ष बिताएपछि सेवाबाट अवकाश लिने व्यक्तिगत निर्णय गर्नुभएको छ ।”
उनले सरकारी सेवा बाहिरका अन्य अवसरहरुका लागि समय दिन चाहेको मन्त्री पाण्डेसँग बताएको विज्ञप्तिमा उल्लेख छ ।
स्पार्क्सको भनाइलाई उल्लेख गर्दै विज्ञप्तिमा “राजदूतका रुपमा मैले नेपाल छोडिरहेको भए पनि मैले सदाका लागि गुडबई भनेको पक्कै हैन, म यो देशका महान जनताको सफलता र सम्पन्नताको कामना गर्छु, साथै नेपाल र बेलायतबीचको विशेष सम्बन्धको दुईसय वर्ष पुगेको अवसरमा गरिने उत्सवमा मैले ब्यक्तिगत रुपमा आफ्नो भूमिका निर्वाह गरिनै रहने आशा गर्दछु,” भनिएको छ ।
