समाचारबिहीबार, माघ २९, २०७१
समानान्तर सरकार बनाउने दाहालको धम्की
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस–एमालेले विगतका सम्झौता तोडेको आरोप लगाउँदै अब समानान्तर सरकार घोषणा गर्ने धम्की दिएका छन् ।
‘पहिचानवादी युवा शक्ति घोषणासभा’ लाई २९ माघमा काठमाडौंमा सम्बोधन गर्दै दाहालले सत्तारुढ दलहरुले पेलेर अघि बढ्न खोजे १६ फागुनपछि सरकारी कार्यालय कब्जा गर्ने र तेस्रो चरणमा केन्द्रमा समानान्तर सरकार घोषणा गर्ने बताएका हुन् । उनले त्यस्तो सरकारको वैधानिकता संयुक्त राष्ट्र संघ र छिमेकी मुलुकहरुबाट समेत खोजिने बताए ।
आफूहरु शान्ति सम्झौताको पक्षमा रहेको तर कांग्रेस र एमालेले सम्झौता तोडेको र त्यसबारे राष्ट्रसंघलाई जानकारी दिने भन्दै उनले थपे, “हामी राष्ट्रसंघलाई सोध्ने छौं तपाइँ कतापट्टी हो ?”
उनले चीन र भारतलाई पनि शान्तिको पक्षमा रहेको एमाओवादीलाई साथ दिने कि शान्ति सम्झौता तोड्ने कांग्रेस–एमालेलाई वैधानिकता दिने भनेर सोधिने बताए ।
जारी पहिलो चरणको आन्दोलन कांग्रेस र एमालेलाई सहमतिबाट पछि नहट्न दबाबका लागि भएको तर, अब दोस्रो चरणको आन्दोलनमा कडारुपमा प्रस्तुत हुने दाहालको भनाई थियो ।
“फागुन १६ पछि प्रादेशिक सरकारहरु बनाइने छ, नाकाबन्दी गरिनेछ,” उनले भने, “आन्दोलनको तेस्रो चरणमा केन्द्रमा संघीय सरकार घोषणा गरिनेछ ।”
आन्दोनलका लागि युवा शक्तिलाई तयार रहन आग्रह गर्दै उनले १६ फागुनको जनप्रदर्शनमा २० हजार, दोस्रो चरणमा २ लाख र तेस्रो चरणमा १० देखि १५ लाख संगठित युवा दस्ता परिचालन गरिने पनि दाबी गरे ।
उनले भने, “१०र१५ लाख युवा परिचालन गरेपछि हाम्रो जितलाई कसैले रोक्न सक्दैन ।”
