समाचारशनिबार, फाल्गुण २, २०७१
सहमति र प्रक्रिया सँगसँगैः प्रम कोइराला
प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माण गर्न सहमतिका लागि वार्ता र प्रक्रिया सँगसँगै अगाडि बढेको बताएका छन् ।
रुपन्देहीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कोइरालाले संविधान बनाउनलाई अब कसैले रोक्न नसक्ने दाबी गरे ।
उनले सहमतिमै संविधान बनाउन आफू प्रयत्नशील रहेको बताउँदै भने, “हिजोका दिनमा भएका दुःखद् घटना बिर्सेर सहमतिका लागि प्रयत्नशील हुनु जरुरी छ ।”
उनले अब संविधान बनाउन एकातिर प्रक्रियाको बाटोबाट अगाडि बढेको र अर्कोतिर सहमतिको बाटो खोज्न एमाओवादी अध्यक्षसँग आफैँले वार्ता र संवाद अगाडि बढाएकाले अब छिट्टै संविधान निर्माणमा देखिएका सबै समस्या समाधान हुने बताए ।
आफूले सरकारको नेतृत्व गर्दादेखि नै संविधान जारी गर्ने उद्देश्यका लागि मात्र प्रधानमन्त्रीको कुर्सीमा बसेको बताउदै संविधान जारी भए पछि प्रधानमन्त्रीको कुर्सीमा लत्रेर नबस्ने कोइरालाले स्पष्ट पारेका थिए ।
उनले संविधान कुनै व्यक्ति वा दलका लागि मात्रै नभएर आम नेपाल र नेपालीको भविश्यसँग जोडिएको विषय भएको बताउँदै आम नागरिकको चाहना पूरा गर्न सबै पक्षलाई संवेदनशील हुन आग्रह गरे ।
