समाचारआइतबार, फाल्गुण ३, २०७१
‘सत्तापक्षले विश्वस्त नपारेसम्म वार्तामा बस्दैनाैं’
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले सत्तापक्षले विश्वस्त नपारेसम्म ३० दलीय मोर्चा वार्तामा नबस्ने बताएका छन् ।
फोरम लोकतानित्रक धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष गच्छदारले सत्तापक्षले बहुमतको आडमा विगतमा भएका विभिन्न सम्झौता र सहमतिलाई उल्टाएर संविधान निर्माण गर्न खोजेको आरोप लगाए ।
उनले भने, “सहमतिबिना संविधान निर्माण हुन सक्दैन, भए पनि त्यो टिकाउ हुँदैन, त्यसकारण सहमति नै समस्याको समाधान हो ।”
सत्तापक्षले एकतर्फी रुपमा संविधान निर्माण प्रक्रिया अघि बढाएर मुलुकलाई द्वन्द्वमा फसाउन खोजेको उनको भनाइ थियो । “मैले आफ्नो राजनीतिक अनुभव, चिन्तन र विवेकका आधारमा मुलुकलाई द्वन्द्वबाट जोगाउन मध्यमार्गी प्रस्ताव ल्याएको थिएँ”, उनले भने ।
