समाचारसोमबार, फाल्गुण ४, २०७१
तत्काल सम्वाद शुरु गर्न सभाध्यक्ष नेम्वाङको आग्रह
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले संविधानका विवादित विषयमा सहमति जुटाउनका लागि तत्काल सम्वाद शुरु गर्न आन्दोलनरत दलका सचेतकहरूलाई आग्रह गरेका छन् ।
सभाध्यक्ष नेम्वाङको कार्यकक्ष सिंहदरबारमा ४ फागुनमा एमाओवादी र मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का प्रमुख सचेतकसँगको छलफलमा उनले वार्ताका लागि आग्रह गरेका हुन् ।
वार्ता र सम्वादको माध्यमबाटै अगाडि बढ्न आग्रह गर्दै अध्यक्ष नेम्बाङले दलहरूबीच सम्वादको क्रम शुरु होस्, सबै दलको सहमतिमा नै संविधान जारी होस् भनेर नै संविधानसभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको बताए । उनले सत्तारुढ दललाई पनि तत्काल औपचारिक सम्वाद शुरु गर्न ध्यानाकर्षण गराएको पनि सचेतकद्वयलाई जानकारी गराएका थिए ।
भेटमा प्रमुख दलबीच वार्ता कसरी शुरु गर्ने विषयमा छलफल भएको बुझिएको छ ।
दुबै सचेतकले सहमतिको आधारमा संविधान जारी हुने वातावरण बने आफूहरू वार्ताका लागि तयार रहेको जानकारी गराएका थिए ।
भेटका बारेमा जानकारी दिँदै फोरम लोकतान्त्रिकका प्रमुख सचेतक रामजनम चौधरीले प्रधानमन्त्रीले वार्ताका लागि गरेको आह्वान सकारात्मक भएपनि विश्वास गर्ने आधार नभएकाले पुनः सार्वजनिक आह्वान हुनुपर्नेमा जोड दिइएको बताए ।
सत्तारुढ दलका तर्फबाट सहमतिका आधारमा संविधान जारी गर्ने सुनिश्चितता नहुन्जेलसम्म वार्तामा बस्न नसकिने आफूहरूले सभाध्यक्षलाई ध्यानाकर्षण गराएको चौधरीको भनाई थियो ।
