समाचारमंगलबार, फाल्गुण ५, २०७१
निगमले १३ गतेदेखि नयाँ दिल्लीमा उडान शुरु गर्ने
नेपाल वायुसेवा निगमको नयाँ जहाजले आफ्नो पहिलो व्यावसायिक उडान भारतको राजधानी नयाँ दिल्लीमा शुरु गर्ने भएको छ ।
अढाइ वर्षको प्रतीक्षापछि केही दिनअघि भित्र्याइएको राष्ट्रिय ध्वजावाहक एयरलाइन्समार्फत निगमले १३ फागुनदेखि नयाँ दिल्लीमा उडान पुनः शुरू गर्न लागेको हो । निगमका प्रवक्ता रामहरि शर्माले नयाँ जहाजको पहिलो व्यापारिक उडान नयाँ दिल्लीमा गरिने र अन्य गन्तव्य मुलुकको पहिचान गरी क्रमशः विस्तार गर्दै लगिने जानकारी दिए ।
उनका अनुसार नयाँ दिल्लीका लागि एकतर्फी प्रवर्द्धनात्मक भाडादर नेपालीका लागि रु ७ हजार १०० र विदेशीका लागि ८ हजार तोकिएको छ ।
निगमले यसअघि नयाँ दिल्ली उडान भर्दै आए पनि विमानको कमीले उडान स्थगन गरेको थियो ।
हाललाई नयाँ दिल्लीको उडान सोमबार, बुधबार, शुक्रबार र शनिबार हुने निगमले जनाएको छ । निगमले गत माघमा एयरबस ‘ए ३२०–२००’ जहाज (सगरमाथा)नेपाल भित्र्याएको थियो ।
रासस
