समाचारमंगलबार, फाल्गुण ५, २०७१

शिवरात्रि मनाइँदै

हिमालखबर

pashupatinath nighttimeआज महाशिवरात्रि । पशुपतिनाथ लगायत देशभरका शिवालयमा दर्शानर्थीको घुइँचो लागेको छ ।

शिव उत्पत्ति भएको रातका नामबाट नामकरण भएको मानिने यो पर्व प्रत्येक वर्षको फागुन कृष्ण चतुर्दशीका दिन मनाइन्छ । कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा यसलाई पुराणमा वर्णन गरिएको छ ।

सम्पूर्ण दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने शिवको अति प्यारो दिनका रूपमा आजको दिनलाई लिइने प्रचलन छ ।

व्रतमा सर्वोत्तम व्रतका रुपमा लिइने यस दिन भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजाअर्चना गरी व्रत बस्ने र शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् ।

यस पर्वका दिन उपवास गरी ‘ऊँ नमः शिवाय’ मन्त्र जप्ने गरेमा सर्वसिद्धि भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ । निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिङ्गमा दुग्धाभिषेक र शिव महिमा कीर्तन शिवरात्रिको पूजा अर्चनाका मुख्य अङ्ग मानिन्छन् ।

शिवरात्रि पर्वलाई पर्वको राजा भनिन्छ र शिवरात्रिको पालनाले भोग र मोक्ष दुवैको प्राप्ति हुने पण्डितहरु बताउँछन् ।

शिवरात्रिलाई लक्ष्य गरी २ फागुनदेखि नै विभिन्न धार्मिक सङ्घसंस्थाले निःशुल्क पानीका साथै खाना र खाजाका लागि भण्डाराको व्यवस्था गरेका छन् ।

भारतको राजस्थानस्थित जालोर धामबाट आएका बाबाहरूले सञ्चालन गरेका भण्डारामा हिजैदेखि प्रसाद ग्रहण गर्नेहरूको लाम लागेको देखिन्थ्यो ।

काठमाडौंमा व्यवसाय सञ्चालन गर्नेहरूको संस्था मित्र मण्डलले पनि पशुपति क्षेत्रमा भण्डारा सञ्चालन गरेको छ । मण्डलका महासचिव महेश अग्रवालका अनुसार २० वर्षभन्दा बढी वर्ष लगातार रुपमा यस किसिमको भण्डारा सञ्चालन गर्दै आएको बताए ।

भक्तको उपचारमा सहयोग पुर्‍याउन विभिन्न सङ्घसंस्थाले निःशुल्क स्वाथ्योपचार गरिरहेका छन् ।

बाबासँग तस्वीर खिँचाउनेको तँछाडमछाड

महाशिवरात्रीका अवसरमा पशुपतिनाथको दर्शनका लागि विदेशबाटआएका साधुसँग तस्वीर खिचाउँदै पर्यटक । तस्वीरः रत्न श्रेष्ठ, रासस ।

महाशिवरात्रीका अवसरमा पशुपतिनाथको दर्शनका लागि विदेशबाटआएका साधुसँग तस्वीर खिचाउँदै पर्यटक । तस्वीरः रत्न श्रेष्ठ, रासस ।

भारतबाट आएका साधुसन्तलाई हेर्ने र उनीहरूसँग तस्वीर खिचाउनेको पनि उत्तिकै भिड लागेको छ । विशेष गरी नागा बाबाहरूलाई हेर्नेको ठूलो भिड लागेको थियो ।

पशुपति क्षेत्र विकास कोषले दर्शन मार्ग, मेला क्षेत्र र दर्शनार्थीको सुरक्षाका लागि भकुन्डोलस्थित कार पार्कमा प्रहरी मूल शिविर कमान्ड पोस्ट स्थापना गरेको छ ।

पार्किङस्थल, जुत्ता चप्पल कक्षलगायत आवश्यक स्थानमा नेपाल प्रहरीको सब–कमान्ड पोस्ट र पिकेड/कर्डन स्थापना गरी दर्शनार्थी एवम् तीर्थयात्रीको पूर्ण प्रभावकारी सुरक्षा व्यवस्था मिलाइएको छ ।

कोषका सदस्यसचिव गोविन्द टण्डनका अनुसार भक्तजनको सुरक्षाका लागि आवश्यक स्थानमा ‘वाकथ्रु गेट’ तथा सिसिटिभी जडान गरी करिब चार हजार सुरक्षाकर्मीको व्यवस्था गरिएको छ ।

वाग्मती नदीको पश्चिम करिडोर प्रयोग गरी तिलगङ्गा–पिङ्गलास्थान हुँदै वनकाली–चार शिवालय, पञ्चदेवल, दक्षिणढोका, वत्सलेश्वरी, आर्यघाट भएर पूर्व ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गर्ने व्यवस्था कोषले गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>