समाचारबुधबार, फाल्गुण ६, २०७१
प्रक्रिया कुनै हालतमा खारेज हुँदैन: उपप्रधानमन्त्री सिंह
उपप्रधान मन्त्री प्रकाशमान सिंहले संविधानसभामा शुरु भएको प्रक्रिया कुनै पनि हालतमा खारेज नहुने बताएका छन् ।
सल्लेरी च्याल्सा विद्युत् कम्पनीको उद्घाटन गर्न ६ फागुनमा सोलुखुम्बु आएका उपप्रधानमन्त्री सिंहले पत्रकारसँगको कुराकानीमा आन्दोलनरत पक्षसँग सहमति खोज्नकै लागि अहिले संविधानसभाको बैठक स्थगित भएको भन्दै सहमति नभए प्रक्रियाबाट संविधान जारी गर्ने बताए ।
शुरु प्रक्रिया खारेज गर्नु भनेको संविधानसभाको अन्त्य जस्तै भएको भन्दै उनले सहमतिका लागि वार्ता भइरहेको र वार्ता सकारात्मकसमेत रहेको बताए ।
आन्दोलनरत विपक्षी दलहरूकै कारण अहिले संविधानसभा समस्यामा परेको दाबी गर्दै उपप्रधानमन्त्री सिंहले संविधानसभामा आउनुको विकल्प नभएको बताउनुभयो । उनीहरू वार्ता र संविधानसभामा आउन जति ढिला हुन्छ उत्ति नै उनीहरूलाई घाटा हुने उपप्रधानमन्त्री सिंहको भनाइ थियो ।
उनले स्थानीय निकायको चुनाव अपरिहार्य भएपनि विपक्षीहरू सहमतिमा नआएका कारण हुन नसकेको उल्लेख गर्दै संविधान जारी भएर अर्को स्थानीय निकायको स्वरुप बनाउने समयसम्मका लागि अन्तरिम भए पनि स्थानीय निकाय चाहिने बताएका थिए ।
प्रक्रिया खारेज नहुँदासम्म वार्तामा बस्न सकिँदैन: भट्टराई
एमाओवादी नेता बाबुराम भट्टराईले संविधान निर्माणमा शुरु गरिएको प्रक्रिया नरोकेसम्म वार्तामा नबस्ने बताएका छन् ।
“पूर्व–पश्चिम एकैपटक हिँड्न सकिँदैन”, भट्टराईले भने, “वार्ता पनि गर्छौ भन्ने र प्रक्रिया पनि शुरु गर्ने गरी उहाँहरु पूर्व लाग्नुभयो । हामी पश्चिमतर्फ लाग्यौँ ।” उनले ११ माघमा शुरु गरिएको प्रक्रिया नरोक्दासम्म सहमति नहुने र आफूहरु वार्तामा नबस्नेसमेत बताए ।
परिवर्तनकारी संविधान निर्माणमा दबाब दिन भन्दै एमाओवादीले शुरु गरेको खबरदारी अभियानअन्तर्गत प्युठानमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले शान्ति सम्झौताका हस्ताक्षरकर्ता गिरिजाप्रसाद कोइराला नहुनु र माधव नेपाल पनि शक्तिमा नहुँदा सहमति गर्न नसकिएको दाबी गरे ।
उनले बाह्रबुंदे समझदारी, विस्तृत शान्ति सम्झौता र अन्तरिम संविधानको भावनाअनुसार आन्दोलनकारी शक्तिबीच सहमति गरेर नयाँ संविधान जारी गर्नुको विकल्प नभएको समेत बताएका थिए ।
प्रधानमन्त्री सुशील कोइरालाले वक्तव्य जारी गरी वार्तामा आउन आग्रह गर्नु सकारात्मक भए पनि प्रक्रिया जारी राख्नु परिवर्तनकारीको हित विपरीत रहेको भट्टराईको भनाई थियो ।
