समाचारबिहीबार, फाल्गुण ७, २०७१
औषधिको मात्रा घटेपछि ओलीको दायाँ हातको पट्टी हट्यो

इन्सेकले आयोजना गरेको कार्यक्रममा सहभागी भएका ओलीको दायाँ हातमा एक वर्षदेखि देखिइरहेको सेतो पट्टी देखिएन । तस्वीर: विक्रम राई
७ फागुनमा ललितपुरमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीको दायाँ हातमा सँधै देखिने सेतो पट्टी बाँधिएको थिएन ।
करिब एक वर्ष अघिदेखि उनको हातमा लगाइएको सेतो पट्टी एक सातादेखि हटाइएको छ । सार्वजनिक सभा–समारोह र भेटघाटमा व्यस्त रहने ओलीलाई अभिभावदनका लागि हात मिलाउँदा समेत पट्टीले गर्दा अप्ठ्यारो हुने गरेको थियो । कतिपय अवस्थामा उनी देब्रे हात अघि बढाउन बाध्य थिए ।
मृगौला प्रत्यारोपणपछि नियमित रुपमा सेवन गर्नु पर्ने शरीरको रोग प्रतिरोधात्मक क्षमता कम गर्ने औषधिले गर्दा उनको हातमा ‘फंगल इन्फेक्सन’ भएको चिकित्सकले बताएका थिए । हातमा इन्फेक्सन भएपछि चिकित्सकले प्रत्येक दुई दिनमा त्यस्तो पट्टी फेरिदिने गरेको ओलीका स्वकीय सचिव रमेश आचार्यले बताए ।
उनले भने, “अहिले स्वास्थ्यमा सुधार आएपछि औषधिको मात्रा पनि घटेको छ र एक साता अघिदेखि पट्टी पनि बाँध्नु परेको छैन ।” पोहोर जेठ महिनादेखि ओलीले हातमा पट्टी बाँध्न थालेका हुन् ।
नियमित सेवन गरिरहेको औषधिको मात्रा घटाउन सकिने अवस्था आएपछि ओलीको हातमा भएको इन्फेक्सन पनि निको हुँदै गएको हो ।
अन्य व्यक्तिको मृगौला शरीरले ग्रहण गर्ने सक्ने बनाउनका लागि सेवन गर्नु पर्ने औषधिको मात्रा घट्नु भनेको मृगौलाले राम्रै काम गरेको अवस्था भएको चिकित्सकहरु बताउँछन् । तर पनि, मृगौला प्रत्यारोपण गरेका व्यक्ति धेरै भिडभाड र संक्रमणको खतरा भएको ठाउँमा जान हुँदैन शरीरको रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले ।
यद्यपी राजनीतिमा व्यस्त ओलीलाई भने भीडभाडमा नजानु असम्भव जस्तै छ ।
यो पनि पढौं: के भएको हो ओलीलाई ?
