समाचारशुक्रबार, फाल्गुण ८, २०७१

शीर्ष फकाउँदै युवा नेताहरु

हिमालखबर

प्रमुख दलका शीर्ष नेताहरुलाई सम्वादमा जुटाएर सहमतीय संविधानको प्रयत्न गराउने अभियान थालेका युवा नेताहरुले आ–आफ्ना दलका शीर्ष नेताहरुलाई दबाव दिइरहेका छन् ।

५ फागुनमा नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादीका युवा नेताहरुको संयुक्त बैठकपछि शीर्ष नेताहरुलाई मनाउने प्रयत्न गरिरहेका छन् ।

शान्ति प्रक्रियापछिका प्रमुख दलहरुबीचको असहमतिले मुलुकलाई निकास नदिने भएकाले सहमतिको संविधान बनाउन नेताहरुलाई सम्वादमा जुटाउने प्रयत्न भइरहेको एमाओवादीका नेता टोपबहादुर रायमाझीले बताए । उनले भने, ‘‘अहिलेसम्म सम्वादका लागि उल्लेख्य बातावरण बनाउन नसकेपनि मनाउने प्रयत्न भइरहेको छ ।’’

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले कांग्रेसका शीर्ष नेताहरुलाई सहमतिका लागि सम्वादमा बस्न आग्रह गरिएको बताए । ‘‘संविधानसभामा कांग्रेस प्रमुख ठूलो दल  भएकाले सम्वादको बातावरण मिलाउनुहोस् भनेर हामीले भनिरहेका छौं’’ भण्डारीले भने ।

तीन दलका युवा नेताहरुले महारागञ्जस्थित एक होटलमा झण्डै पाँच घण्टासम्म बैठक बसेर प्रमुख दलका शीर्ष नेताहरुलाई सम्वादमा जुटाउन सहजीकरण गर्ने निर्णय गरेका थिए ।

एमालेका युवा नेता रविन्द्र अधिकारीले एमाओवादीसहितको ३० दलीय मोर्चाले आह्वान गरेको १६ फागुनको आन्दोलन अघि शीर्ष नेताहरुलाई वार्तामा जुटाउनेगरी दबाव दिइरहेको बताए । अधिकारीले भने, ‘‘नेताहरुले अडान छोडेर वार्तामा बस्दा मात्रै मुलुकलाई निकास दिन सकिने भएकाले शीर्ष नेताहरुलाई दबाव दिइरहेका छौं ।’’

यी युवा नेताहरुले शीर्ष नेताहरुलाई सम्वादमा जुटाउन सहजीकरण गर्ने, संविधानका विवादित विषयमा विकल्प खोज्ने र दलहरुबीचको दूरी बढ्न नदिने निर्णय गरेका छन् ।

दबाव अभियानमा कांग्रेसका बालकृष्ण खाँड, नबिन्द्रराज जोशी, चन्द्र भण्डारी, गगन थापा, बद्री पाण्डे, विश्वप्रकाश शर्मा, एमालेका प्रदिप ज्ञवाली, शंकर पोखरेल, रबिन्द्र अधिकारी, भानुभक्त ढकाल, राजन भट्टराई र एमाओवादीका टोपबहादुर रायमाझी, बर्षमान पुन, शक्ति बस्नेत र गंगा श्रेष्ठ लागेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>