समाचारशुक्रबार, फाल्गुण ८, २०७१
हामी फेल भएका छैनौं: प्रधानमन्त्री कोइराला

तस्वीर: आनन्दराम डंगोल
प्रधानमन्त्री सुशील कोइरालाले सङ्घीय गणतन्त्र तथा लोकतन्त्रको मूल्य मान्यतासहितको संविधान ल्याउन अव धेरै दिन नलाग्ने बताएका छन् ।
गणेशमान सिंह अध्ययन प्रतिष्ठानद्वारा काठमाडौंमा आयोजित प्रवचन कार्यक्रममा प्रधानमन्त्री कोइरालाले भने, “हामीले सदाशयता देखाइरहेका छौँ, अब संविधान ल्याउन धेरै लाग्दैन, प्रजातन्त्रबादी सधैँ विजयी भएका छन्, हुन्छन्, प्रजातन्त्रको मूल्य मान्यतामा कसैसँग सम्झौता हुनसक्दैन।”
उनले लोकतान्त्रिक संविधान जारी गर्ने काममा आफू फेल नभएको भन्दै जनताको शीर निहुर्याउने काम आफूहरुबाट नहुने प्रस्ट पारे ।
मुलुकको विकास र समृद्धिका लागि शान्ति र अमनचयन आवश्यक भएको बताउँदै कोइरालाले भने, “अब आन्दोलन, डर, धम्की होइन शान्तिका माध्यमबाट विकासतर्फ उन्मुख गराउने काममा अब सवैपक्ष एकाकार हुन आवश्यक छ ।”
प्रजातान्त्रिक आन्दोलनका लौहपुरुष गणेशमान सिंहबाट त्याग र बलिदानीको ठूलो प्रेरणा लिनुपर्ने आवश्यकतामा प्रधानमन्त्री कोइरालाले जोड दिए ।
सन्की प्रवृत्तिबाट मुलुक आक्रान्त: ओली
नेकपा—एमालेका अध्यक्ष केपी ओलीले बहुदलीय प्रतिस्पर्धाका आधारमा जनताको अभिमत प्राप्त गर्ने लोकतान्त्रिक मूल्य मान्यता विपरित सिद्धन्तका नाममा भित्रिएको सन्कि प्रवृत्तिबाट मुलुक आक्रान्त भएको बताए ।
लोकतन्त्रप्रति दृढ छौं भन्ने अनि दुई तिहाइलाई दम्भ देख्ने, कानुन, नियम, नियमावली र संविधानअनुसार अघि बढ्न खोज्दा त्यसको विरोध गर्ने कस्तो खाले लोकतन्त्रको कल्पना गरिएको हो भनी उनले प्रश्न गरे ।
अध्यक्ष ओलीले भने, “देश टुक्र्याउन खोज्नेसँग संविधान लेख्ने विषयमा कुनैपनि लेनदेन हुँदैन, वार्ता मिलेको छैन, राष्ट्रिय हित र चासोको विषयमा लेनदेन हुनसक्दैन, संविधान नबनाउन खोज्ने कुरालाई अस्वीकार गरिन्छ ।”
आधुनिक लोकतान्त्रिक आन्दोलनको अभिन्न र असाधारण नायक व्यक्तित्वको रुपमा गणेशमान सिंह नेपालको राजनीतिमा स्थापित भएको बताउँदै उनले स्व. सिंहको विचार, हिम्मत, लोकतन्त्रप्रतिको विश्वासले आफूलाई जेलभित्र र बाहिरसमेत लोकतान्त्रिक आन्दोलनमा लाग्न प्रेरणा प्राप्त भएको स्मरण गरेका थिए ।
छिटो संविधान दिनोस भनी पशुपतिसँग प्रार्थना: भाजपा नेता
भारतीय जनता पार्टीका नेता भगतसिंह पन्जियार (खुसीयारी) ले लोकतन्त्रको आन्दोलनमा त्याग र बलिदान दिएका स्व गणेशमानको योगदान नेपालमा मात्र सीमित नभएर हिन्दुस्तानमा समेत रहेको बताए ।
नेपालले संविधान प्राप्त गरेपछि लोकतन्त्रले स्थायित्व प्राप्त गर्ने र छिटो समृद्धि हासिल हुने भएकाले यसपटक आफू नेपाल आउँदा आफूलाई कुनै चिज माग्न नभएर पशुपतिनाथसँग नेपाललाई छिटो संविधान बनाइदिनुस् भनी प्रार्थना गरेको प्रसङग उनले उल्लेख गरेका थिए ।
