समाचारशनिबार, फाल्गुण ९, २०७१
सरकार परिवर्तन होइन विस्तार हुन सक्छ: नेता नेपाल
एमाले वरिष्ठ नेता माधवकुमार नेपालले अहिले सरकार परिवर्तनको कुनै सम्भावना नभएको बताएका छन् ।
प्रेस चौतारी कैलालीले ९ फागुनमा गेटा विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले सरकार परिवर्तनको कुनै सम्भावना नभए पनि विस्तार भने हुनसक्ने बताए ।
उनले विपक्षी दलहरुसँग सहमतिको सम्भावना बढ्दै गएको भन्दै आफूले एनेकपा—माओवादीसहितको मोर्चाका नेताहरुसँग छलफल गर्दा सहमतिका लागि सकारात्मक सङ्केत देखापरेको दाबी गरे ।
नेता नेपालले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार, तमलोपा अध्यक्ष महन्थ ठाकुरलगायतका नेताहरुसँग छलफल गरेको पनि जानकारी दिए ।
छलफलका क्रममा मोर्चाका नेताहरु वार्तामा बस्न सकारात्मक भएकाले वार्तामा बसेपछि हाल देखिएका मतभिन्नता हल हुने नेपालको भनाई छ ।
“नेपाली कांग्रेस र नेकपा—एमाले छिटोभन्दा छिटो संविधान जारी गर्ने पक्षमा रहेका छन् । सकिन्छ भने सहमतिका आधारमा संविधान जारी गर्ने, त्यसो नभए विमति राखेर भए पनि संविधान जारी गरिनेछ,” नेपालले भने ।
