समाचारआइतबार, फाल्गुण १०, २०७१
‘जेठ १५, संविधान घोषणा गर्ने उपयुक्त दिन’
एमाले वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आगामी १५ जेठ संविधान जारी गर्नका लागि उपयुक्त मिति हुने बताएका छन् ।
उनले संविधान निर्माण गर्ने कुरामा एमाओवादी मुख्य बाधक भएको आरोप लगाएका थिए ।
१० फागुन बिहान एमाले कञ्चनपुरले महेन्द्रनगरमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा नेता नेपालले धेरै विषयमा सहमति भइसकेको बताउँदै संविधान जारी गर्ने ८ माघ, ७ फागुन जस्ता महत्वपूर्ण दिन गइसकेकाले अब १५ जेठ गणतन्त्र दिवसका दिन संविधान जारी गर्न सकिने बताए ।
सहमतिबाट सात वर्षदेखि संविधान जारी गर्ने विषयमा छलफल भइरहेको भए पनि संविधान टाढिँदै गइरहेको उनको भनाइ थियो ।
“सबै विषयमा सहमति नजिक पुगेर माओवादी अन्तिम घडीमा सहमतिबाट पछि हट्यो ।” उनले भने, “चाहना पूरा हुने बेला एमाओवादी बेहोस हुन्छ ।”
उनले एमाओवादीले सहमति भन्ने तर सहमति गर्नै नचाहने, सहमति भए पनि पालना नगर्ने प्रवृत्ति देखाउँदै आएको आरोप लगाए । भने, “हामीले जिम्मेवार भूमिका निभाउन जरुरी छ ।”
पछिल्लो समय एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई आफूले भेटेर पनि आन्दोलनको चक्रब्यूहमा नफस्न आग्रह गरेको उनले बताए ।
रासस
