समाचारआइतबार, फाल्गुण १०, २०७१
एमाओवादी संविधानसभाबाट बाहिरन सक्दैनः श्रेष्ठ
१५ जेठमा संविधाः नेपाल
एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले १५ जेठमा संविधान जारी गर्न उपयुक्त दिन भएको बताएका छन् ।
कञ्चनपुरमा आयोजित कार्यक्रममा नेता नेपालले भने, ‘‘गणतन्त्र घोषणा गरेको दिनलाई महत्वपूर्ण दिनका रुपमा लिएर १५ जेठमा नै संविधान घोषणा गर्न उपयुक्त हुन्छ ।’’
संविधान निर्माणपछि देशका जल्दाबल्दा समस्या समाधान गर्नतर्फ लाग्नुपर्ने बताउँदै नेपालले भने, ‘‘‘अब ढिलो भइसकेको छ । चाँडो संविधान जारी गरेर मुलुकलाई विकासको बाटोतर्फ अघि बढाउनु पर्छ ।’’
पूर्वप्रधानमन्त्री नेपालले दलहरुबीच केही समयदेखि वार्ता र सम्वादको प्रक्रिया अघि नबढेपनि अब छिट्टै छलफल हुने बताए ।
उक्त कार्यक्रममा एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले एमाओवादी संविधानसभाबाट बाहिरिन नसक्ने बताएका छन् ।
एमाओवादी संविधानसभाबाट बाहिरिन्छ भन्ने भ्रममा नरहन आग्रह श्रेष्ठले गरे । उनले भने, ‘‘यो अन्तिम संविधानसभा हो । कुनै पनि हालतमा संविधान बन्छ । एमाअाेवादी संविधानसभाबाटै संविधान ल्याउने पक्षमा छ ।’’
उनले सहमतिमै संविधान जारी गर्नका लागि पहल भइरहेको बताए । श्रेष्ठले दलहरुबीच सहमति र सहकार्य नभएकैले समस्या उत्पन्न भएको बताए । श्रेष्ठले भने, ‘‘बहुमत भन्दा पनि सहमतिकै आधारमा अघि बढ्नुको विकल्प छैन, त्यसको पहल भइरहेको छ ।’’
