समाचारसोमबार, फाल्गुण ११, २०७१
सिमराः प्रदर्शनकारीको औंला चुँडियो, सञ्चारगृहमा तोडफोड
बाराको सिमरामा सेवा केन्द्र स्थापनाको सरकारको अघिल्लो निर्णय कार्यान्वयनको माग गर्दै जारी आन्दोलनमा ११ फागुनमा पनि प्रहरी र स्थानीयबीच झडप भएको छ ।
स्थानीय प्रशासनले जारी गरेको निधेषित क्षेत्रको अवज्ञा गर्दै आन्दोलनकारीले प्रदर्शन गरेपछि प्रहरी र आन्दोलनकारीबीच झड्प भएको हो ।
करिब तीन घण्टासम्म भएको झडपमा परी प्रहरी र आन्दोलनकर्ता दुबै तर्फका करिब २५ जना घाईते भएका छन् ।
घाईते आन्दोलनकारी एक जनाको औला चुँडिएको छ । प्रहरीले लखेटेपछि भागेर घरभित्र पसेर ढोका लगाउन खोज्दा पल्लामा च्याँपिएर भोला थापाको औंला चुँडिएको हो । थापालाई उपचारका लागि बिमानबाट काठमाडौं लगिएको छ ।
त्यसैगरी सशस्त्र प्रहरी हवल्दार वीरेन्द्र यादवसहितका प्रहरी पनि आन्दोलनकारीको ढुंगा अनुहारमा लागेर घाइते भएका छन् ।
स्थानीयको घर र होटेलमा प्रवेश गर्दै लाठी प्रहार गरेको प्रहरीले सिमरास्थित रेडियो नागरिकमा प्रवेश गरी तोडफोड गरेको छ । बन्दकर्ता लुकेको भन्दै रेडियोको स्टुडियोभित्र प्रवेश गरेर प्रहरीले टेवलका सिसा र स्पीकर फोडेको हो ।
यस्तै आन्दोलनकारीमध्येका अतिष श्रेष्ठ, गोपी सिलवाल, बर्षा राई, प्रद्युम्न साह, संजयकुमार साह, शिवशंकर महतो, उषा महतो, मधु पौडेल, गिता कँडेल, राधादेवी साह, रवि गुप्ता, प्रविण अधिकारी, सुलभ अधिकारी, सविन कार्की, गोपााल रिजाल र निरंजन खरेललाई नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिएकालाई सशस्त्र प्रहरी बल भद्रकाली गण पिलुवामा राखिएको छ ।
राजमार्गमा उत्रिएका बन्दकर्तालाई तितर बितर पारेको प्रहरीले कडा सुरक्षाबीच दिउँसो साढे एक बजे बीच बाटोमा रोकिएका सवारी साधनलाई गन्तब्य तर्फ पठाएको प्रहरी उपरीक्षक लोकेन्द्रबहादुर मल्ले जानकारी दिए ।
१० फागुनमा पनि प्रहरी र आन्दोलनकारी बीच झडपप हुँदा प्रहरी निरीक्षकसहित २५ जना घाइते भएका थिए ।
बन्दका कारण यस क्षेत्रका कलकारखाना समेत प्रभावित भएका छन् । प्रहरी दमनको विरोधमा पिलुवा र निजगढका स्थानीयले पनि यातायात ठप्प पारेका छन् ।
शब्द र सबै तस्वीरहरु: श्याम गुप्ता, बारा
