समाचारसोमबार, फाल्गुण ११, २०७१
केही नेताको छुद्र स्वार्थ सहमतिको बाधकः गगन थापा
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले केही नेताको छुद्र स्वार्थ सहमतिको बाधक भइरहेको बताएका छन् ।
११ फागुनमा रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै थापाले त्यस्ता नेतालाई भविष्यमा आफ्नो हैसियत के हुने भन्ने पीडाले सशंकित बनाएकाले सहमति बन्न नदिने खेलमा लागेको दाबी गरे ।
“संविधानको अन्तर्वस्तुमा खासै विवाद छैन, संघीयतामा पनि सहमति बनाउन सकिन्छ,” थापाले भने, “अहिलेको बखेडा केही नेताको छुद्र स्वार्थको परिणाम हो ।”
उनले त्यस्तो स्वार्थ देखाउने नेता को हो भन्ने नखुलाए पनि एमाओवादीलगायत मोर्चाका केही नेतातर्फ संकेत गरेका थिए ।
कसैको व्यक्तिगत स्वार्थको लागि देश अनिर्णयको बन्दी बन्न नसक्ने भन्दै सहमतिका विरोधीहरुले गम्भीर परिणाम भोग्नुपर्ने थापाले चेतावनी दिए ।
उनले १६ फागुनभित्र सहमति नगरे देश द्वन्द्वमा फस्ने खतरा रहेको भन्दै सबैले आ–आफ्ना स्वार्थलाई थाती राखेर तत्काल सहमति बनाउनु जरुरी रहेकोमा जोड दिए ।
प्रमुख राजनीतिक दलहरुवीच विवादित भनिएका संविधानका अन्तर्वस्तुमध्ये संघीयताबाहेक अन्य विषयमा विवादै नभएको उनले दाबी गरे । भने, “कांग्रेस, एमाले र राप्रपाले अघि सारेको नौ बुँदे र एमाओवादी नेतृत्वको मोर्चाले अघि सारेको नौ बुँदे अवधारणा दुवैमा जति वर्ष छलफल गरेपनि निश्कर्ष निस्कदैन, त्यसैले अब सिधा संविधानका अन्तर्वस्तुमा छलफल गर्नुपर्छ ।”
थापाले एमाओवादी नेतृत्वको मोर्चाले कांग्रेस–एमालेलाई ०४७ सालकै संविधान जारी गर्न लागे भन्ने र राप्रपा नेपालले ०४७ सालको संविधान जारी गर्न दिएनन् भन्ने परस्पर विरोधि आरोपहरु हास्यास्पद भएको बताए ।
उनले भने, “०४७ सालको संविधान जारी गर्ने त अर्कै कुरा हामीले प्रश्नावली प्रस्ताव समितिमा पहिल्यै नै सहमति भैसकेका गणतन्त्र, धर्मनिरपेक्षताजस्ता विषयलाई प्रश्नमा समेत राख्न नहुने भनेका छौं, त्यसलै हामी आन्दोलनले प्राप्त गरेका उपलब्धिबाट किमार्थ पछि हट्नै सक्दैनौ ।”
शीर्ष नेताहरुवीच सार्थक वार्ता गर्न सबै राजनीतिक दलका युवा नेताहरुले पहल गरेपनि उक्त प्रयासले अझैपनि सार्थकता नपाएको थापाको गुनासो थियो ।
