समाचारबुधबार, फाल्गुण १३, २०७१

एमालेले पनि शक्ति प्रदर्शन गर्ने

हिमालखबर

एमाले स्थायी कमिटी बैठकले एमाओवादीलगायत विपक्षी मोर्चाले आफ्नो पार्टीलाई परिवर्तनविरोधीका रूपमा प्रचार गरेकाले त्यसविरुद्ध सडकमा जाने निर्णय गरेको छ।

पार्टी मुख्यालय बल्खुमा बसेको बैठकले चैतका लागि कार्यक्रम तयार पार्ने जिम्मा केन्द्रीय सचिवालयलाई दिएको छ।

‘मेची-महाकाली राष्ट्रिय अभियान’ नाम दिइने उक्त कार्यक्रमले पार्टीको संगठनात्मक सुदृढीकरण र संविधान निर्माणको वातावरण बनाउन सकारात्मक दबाब दिनेबारे बैठकमा छलफल भएको थियो। एमाले प्रचार विभाग प्रमुख रहेका सचिव प्रदीप ज्ञवालीले पार्टीलाई परिवर्तनविरोधी भनेर जनतामा फैलाइएको भ्रम चिर्न जनतामा जाने कार्यक्रम तय गर्न लागिएको बताए।

‘संघीयता र जातीय सद्भावबारे जनतामा भ्रम फैलाउने काम भएको छ। एमालेलाई संघीयता, पहिचान र मधेसविरोधी भनेर प्रचार गरिएको छ’, ज्ञवालीले भने, ‘मधेसको मूल समस्या भनेको गरिबी, अभाव र न्यून प्रतिनिधित्वको हो। त्यहाँको अभिजात वर्गको मुद्दाअनुसार डिजाइन गरी प्रचार गरिएको छ। त्यहाँको सामाजिक उत्पीडनबारे जनतामा चेतना भर्ने काम गर्न देशव्यापी अभियान आवश्यक छ।’

एमालेका अर्का सचिव योगेश भट्टराईले एमालेमाथि लगाइएका आरोपको प्रतिवाद गर्न पार्टीको संगठनात्मक सुदृढीकरण पनि आवश्यक भएको बताए। उनले भने, ‘संविधान निर्माणका पक्षमा सकारात्मक दबाब सिर्जना गरी वातावरण तयार गर्न पनि देशव्यापी अभियान आवश्यक महसुस भयो।’

ज्ञवालीका अनुसार हिमाल, पहाड र तराई सबै क्षेत्रमा सञ्चालन गरिने अभियानको ‘मोडालिटी’ बनाउने जिम्मा सचिवालयलाई दिएको छ। महासचिव, दुई उपमहासचिव र पाँच सचिव रहेको केन्द्रीय सचिवालयले एमाओवादीलगायत विपक्षी मोर्चाले फैलाएको भ्रम चिर्न गर्नुपर्ने कार्यक्रमको खाका तयार पार्नेछ।

‘संविधान बन्‍न नदिने, अराजकता फैलाउने र प्राप्त उपलब्धि संस्थागत हुन नदिन भइरहेको षड्यन्त्र विश्लेषण गरी कसरी अघि बढ्ने भन्ने तय गरिनेछ’, उनले भने, ‘जनतामा पनि जाने र कार्यकर्ता पनि परिचालन गरिनेछ।’

चैतभरि सञ्चालन गर्ने कार्यक्रममा एमालेले गाउँतहसम्मकै कमिटीहरूको बैठक, भेला र क्षेत्रीय स्तरमा आमसभा गरेर जनतालाई संविधानबारे पार्टीले राखेका अडानबारे जानकारी गराउने एमालेको तयारी छ।

अन्नपूर्ण पाेष्टबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>