समाचारबिहीबार, फाल्गुण १४, २०७१
‘मृत्युदण्ड नभएपनि महिला हिंसाका पीडकलाई ४० बर्ष जेल’
प्रधानमन्त्री सुशील कोइरालाले महिलामाथि हुने हिंसा र अपराध अक्षम्य भएको बताएका छन् ।
छात्रामाथि एसिड खन्याउने र बलात्कार गर्ने अपराधीको खोजी गरी तत्काल कारबाही हुनुपर्ने मागसहित ध्यानाकर्षणपत्र बुझाउन एमाअाेवादी नेतृ शशी श्रेष्ठको नेतृत्वमा आएको प्रतिनिधिमण्डलसँग प्रधानमन्त्री कोइरालाले हिंसाबारे सरकार अत्यन्त सजग रहेको बताए ।
उनले भारतको नयाँ दिल्लीमा सामूहिक बलात्कार गर्ने व्यक्तिलाई भारतीय अदालतले मृत्युदण्ड दिएको प्रसङ उल्लेख गर्दै नेपालमा पनि कानून कडा बनाइने बताए । उनले भने, “नेपालले मृत्युदण्ड उन्मूलन गरी अन्तर्राष्ट्रिय सन्धिमा हस्ताक्षर गरिसकेकाले मृत्युदण्डको प्रावधान नराखिएको भए पनि जन्मकैदको अवधि २० वर्षबाट ३० वर्ष पुर्याइएको छ । बाबुबाटै बलात्कारको घटना भए थप १० वर्ष सजाय थपिएको छ ।”
प्रधानमन्त्रीले दिनअघि मात्र छात्रामाथि एसिड खन्याएको घटनालाई सरकारले गम्भीर रुपमा लिएको र छिट्टै अपराधीको खोजी गरी कडा कानुनी गरिने विश्वास दिए ।
