समाचारबुधबार, कार्तिक ८, २०६९
राष्ट्रपतिले पुरोहितबाट टीका ग्रहण गरे
नीजि पुरोहित शंकरप्रसाद सिग्देल र दशैंघर हनुमान ढोकाका पुरोहित दिनानाथ भट्टराईबाट राष्ट्रपतिले टीका ग्रहण गरेका हुन् । पुरोहितबाट टीका ग्रहणपछि उनले आफन्तजनलाई दशैंको टीका लगाएका छन् ।
यसैगरी राष्ट्रपतिको हातबाट टीका लगाउन सर्वसाधारण शितल निवास पुगेका छन् । सर्वसाधारणका लागि शितलनिवास ५ बजेसम्म खुला रहने बताइएको छ ।
यसअघि राष्ट्रपतिले विज्ञप्ति जारी गर्दै सम्पूर्ण नेपालीमा दशैंको शुभकामना व्यक्त गरेका छन् । शुभकामना मनतव्यमा लोकतान्त्रिक संविधान पाउने नेपाली जनताको आकांक्षा र अधिकार कसैगरी पनि खण्डित हुन नपाओस भन्दै जनताको अग्रगमनतर्फको यात्रा निरन्तर बढने उनले विश्वास व्यक्त गरेका छन् ।
सन्देशमा जननिर्वाचित संस्थाबाट नयाँ संविधानको निर्माण नगरिएसम्म देशले संक्रमणकालीन अवस्थाबाट मुक्ति पाउन सक्ने अवस्था नभएको भन्दै राष्ट्रपति यादवले विशेषगरी राजनीतिक दलहरुले बीचको वैमनश्य र अविश्वासलाई सौहार्दता, सहकार्य र सहमतिको संस्कारमा रुपान्तरण गर्न आग्रह गरेका छन् ।
प्रधानमन्त्रीले बाबुसँग टीका लगाए
यसैबीच आजै ८ कार्तिक विहान प्रधानमन्त्री बाबुराम भट्टराईले पनि आफ्ना बाबु भोजप्रसाद भट्टराईबाट दशैंको टीका ग्रहण गरे ।
टीकापछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिंदै प्रधानमन्त्री भट्टराईले दलहरुबीचमा दशैं लगत्तै गम्भीर छलफल भई तिहारसम्म सहमतिमा पुगिने बताए ।
संविधान सभाको पुनःस्थापना गरेर संविधान जारी गरी व्यवस्थापिका संसदको निर्वाचन गर्ने या ऐन कानुन संसोधन गरेर संविधानसभाको निर्वाचन गर्ने भन्नेमा दलहरुबीच छलफल चलिरहेको भन्दै आफू जुनसुकै विकल्पमा जान तयार रहेको वताएका थिए ।
