समाचारशुक्रबार, फाल्गुण १५, २०७१
लाठी बोकेरै मोर्चा ‘शक्ति प्रदर्शन’मा उत्रने
एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले काठमाडौंमा १६ फागुनमा आह्वान गरेकोे ‘शक्ति प्रदर्शन’मा लाठी बोकेरै उत्रने भएको छ ।
राजनीतिक भविष्य निर्धारण गर्ने आन्दोलनका रुपमा प्रचार गरिएको शक्ति प्रदर्शनमा मोर्चाले युवा दस्तालाई लाठीसहित नै उतार्ने तयारी गरेको छ ।
देशभरबाट आएका कार्यकर्ताहरुको आन्दोलनलाई व्यवस्थित गर्न परिचालन हुने स्वयम्सेवकले आवश्यक साधन बोक्ने मोर्चाका प्रबक्ता प्रेमबहादुर सिंहले बताए ।
उनले भने, ‘‘आन्दोलनका लागि चाहिने साधनहरु स्वयम्सेवकहरुले बोक्छन्, यसलाई गलत प्रचार गरिनु हुँदैन ।’’
मोर्चाको नेतृत्व गरिरहेको एमाओवादीले १२ फागुनमा लाठीसहितको वाइसीएल सार्वजनिक गरेपछि १३ फागुनमा गृह मन्त्रालयले सर्वसाधरणलाई आतंकित पार्ने साधनहरु आन्दोलनमा प्रदर्शन नगर्न आग्रह गरेका थिए ।
एमाओवादीको युवा संगठन वाइसीएलले १२ फागुनको लाठीसहितको प्रदर्शनका क्रममा सर्वसाधरणलाई कुटपिट गरेपछि आन्दोलनमा लाठी प्रर्दशन नगर्न राष्ट्रिय मानवअधिकार आयोगले मोर्चालाई आग्रह गरेकाे छ । लाठीलाई हतियारका रुपमा बुझ्न नहुने भन्दै मोर्चाले आयोगकै पदाधिकारीहरुलाई लाठी बोक्ने जवाफ दिएकाे छ ।
कांग्रेस, एमालेलगायतका दलहरुलाई घुडा टेकाउन भन्दै मोर्चा आवद्ध दलहरुले तीन महीना अघिदेखि नै लाठी तालिम सञ्चालन गरेका थिए ।
५ माघमा संविधानसभाभित्रै तोडफोडमा उत्रिएको एमाओवादी मोर्चाका संयोजक पुष्पकमल दाहालकै संयोजकत्वमा २९ माघमा लाठीसहितको दस्ता सार्वजनिक गरेका थिए । उक्त दस्तालाई प्रहरीसँग जुध्न नै प्रशिक्षण दिइएको थियो ।
यस्ताे छ अान्दाेलनकाे तयारी
मोर्चाले काठमाडौंका १७ स्थानबाट १६ फागुन विहान ११ बजे जुलुस प्रदर्शन गर्दैछन् । एमाओवादी अध्यक्षले कमलपोखरीबाट मध्य कमाण्ड, बाबुराम भट्टराईले कालिमाटीबाट पश्चिम कमाण्ड र नारायणकाजी श्रेष्ठले तीनकुेनबाट पूर्वी कण्माड गर्दैछन् ।
जुलुसपछि मध्यान्ह १२ बजेपछि झाँकी प्रदर्शन र दिउँसो १ बजेबाट खुल्ला मञ्चमा शक्ति प्रदर्शन गर्दैछन् । यो आमसभापछि मोर्चाको प्रचारात्मक आन्दोलन सकिनेछ ।


