समाचारशनिबार, फाल्गुण १६, २०७१

भूपू भारतीय गोर्खा सैनिकलाई पेन्सनको पिरलो

हिमालखबर

-तुफान न्यौपाने

बुटवलको फूलबारीस्थित पेन्सन क्याम्पमा पूर्व भारतीय गोर्खाका परिवार।

बुटवलको फूलबारीस्थित पेन्सन क्याम्पमा पूर्व भारतीय गोर्खाका परिवार।

एक जमाना थियो– गल्लावालहरू नेपालका गाउँ–गाउँ पुगेर भारतीय सेनामा भर्ती खुलेको सूचना दिन्थे अनि हूलका हूल नौजवान छानेर भर्ती केन्द्रसम्म पुर्‍याउँथे।

शारीरिक रूपमा ‘फिट’ युवकहरू भटाभट भर्ती हुन्थे। न कुनै शैक्षिक योग्यता चाहिन्थ्यो न कुनै प्रमाणित कागजात नै। तिनैमध्येका एक थिए, डाँडाकोट–४ पाल्पाका इन्द्रबहादुर थापा, जो गल्लावालको पछि लागेर सन् १९५८ मा भारतीय सेनामा भर्ती भएका थिए।

१९७५ मा नायक पदबाट रिटायर्ड भएका थापाले भारतीय सेनाको सिटरोलमा पत्नीको नाम कृष्णमाया थापा लेखाएका थिए। तर, उनी पल्टनमै हुँदा नेपालमा पत्नीले वास्तविक नाम दिलमाया थापाबाट नागरिकता बनाइन्। नायक थापाले सन् १९८८ मा मृत्यु नहुन्जेल आफैं पेन्सन बुझे, तर, पेन्सनपट्टामा कृष्णमाया थापा र नागरिकतामा दिलमाया थापा नाम हुँदा उनको हकवाला पत्नीले पेन्सन पाएकी छैनन्।

तीन छोरा र तीन छोरीकी आमा दिलमायाले मासिक साढे चार हजार भारुका लागि २५ वर्षदेखि गर्दै आएको प्रयास सफल हुनसकेको छैन। उनका ज्वाइँ यमबहादुर थापा भन्छन्, “जति गर्दा पनि भएन, खर्च मात्रै भयो।”

त्यस्तै, रामपुर–१ पाल्पाका तीर्थ श्रेष्ठले भारतीय सेनामा भर्ती हुँदा थरमा राना लेखाएका थिए। भारतले ब्राह्मण, नेवार र थारूलाई सितिमिति भर्ती नगर्ने भएकाले उनले थर फेरेका थिए। भारतीय गोर्खा पल्टनमा उनी ५२३४३१८ नम्बरका सैनिक थिए।

१५ साउन २०६० मा निधन हुनुअघिसम्म आफैंले पेन्सन बुझेका उनले पनि सिटरोलमा पत्नीको नाम घरायसी बोलीचालीको चन्द्रकुमारी लेखाएका थिए।

धरानको पेन्सन क्याम्प

धरानको पेन्सन क्याम्प

पल्टनको चन्द्रकुमारी रानाको नेपाली नागरिकता भने वास्तविक नाम/थर झ्मकला श्रेष्ठको नामबाट बन्यो। र, उनी पतिको पेन्सनको हकवाला हुनबाट बञ्चित भइन्।

पोखरास्थित भारतीय पेन्सन क्याम्पले नाम/थर सच्याएर ल्याउन भनेपछि १० वर्षदेखि पेन्सनबाट बञ्चित भएको उनका कान्छा छोरा विष्णु श्रेष्ठले बताए। बुवा पाँच वर्षसम्म थलिंदा आमाले नै वारेसको रूपमा पेन्सन बुझेको तर मृत्यु भएपछि भने नाम/थर नमिलेको भन्दै पेन्सन रोकिएको उनी बताउँछन्। “बुवाको उपचारमा खेतबारी र आमाका गहना सकियो”, विष्णु भन्छन्, “जमदारको पेन्सन, छोडम् कसरी छोडम्, लडम् भने कहाँ, कोसँग, कसरी लडम्!”

भारतीय सेनाको पेन्सन स्कीमले पेन्सनरको मृत्यु पछि उनकी पत्नी र पत्नीको मृत्यु भए छोराछोरी नाबालक छन् भने उनीहरूले पनि पेन्सन पाउने व्यवस्था छ। तर, भारतीय सेनामा भर्ती हुँदा पल्टनमा लेखाएको नाम र नेपालमा वंशजका आधारमा लिएको नागरिकताको नाम/थर नमिल्दा धेरै सैनिक परिवार त्यो अधिकारबाट बञ्चित भएका छन्।

नेपाली नागरिकता र पल्टनको सिटरोलको नाम सच्याउने प्रयास सफल नभएको भूपू भारतीय गोर्खा–सैनिकको संगठन ‘संयुक्त पूर्व सैनिक कल्याणकारी महासंघ’ का महासचिव कुलबहादुर केसी बताउँछन्। उनका अनुसार, नेपाली नागरिकता र पल्टनको रेकर्डमा नाम/थर नमिलेर पेन्सन रोकिने १३ हजार जति छन्। अहिले नेपालमा भारतीय सैनिक पेन्सन बुझने करीब एक लाख २५ हजार छन्।

९–१० साउन २०७१ को भारत–नेपाल परराष्ट्रमन्त्री स्तरीय बैठकमा नाम, थर, जन्ममिति र ठेगाना फरक परेका पेन्सनरहरूलाई सम्बन्धित जिल्ला प्रशासन कार्यालयले फोटोसहित प्रमाणित गरिदिए पेन्सन नियमित हुने सहमति भए पनि नेपाल सरकारले त्यस्तो पहल गरेको छैन।

महासंघका महासचिव केसी भन्छन्, “जिल्ला प्रशासन कार्यालयहरूले कागजात प्रमाणित गरेर यिनलाई पाकेको पेन्सन देऊ भन्दा समस्या समाधान हुनेथियो, तर नेपाल सरकारले त्यस्तो परिपत्र नै गरेको छैन।”

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>