समाचारशनिबार, फाल्गुण १६, २०७१
एमाओवादीको आन्दोलनले जनतालाई सास्ती: सचिव ज्ञवाली
नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले संविधान निर्माणका लागि सत्तापक्षले रातो कार्पेट ओछ्याएर वार्ताका लागि आह्वान गर्दागर्दै पनि विपक्षी दलहरु सडक आन्दोलनमा जानु दुःखद् भएको बताएका छन् ।
१६ फागुनमा कास्कीमा आयोजित पत्रकार सम्मेलनमा सचिव ज्ञवालीले सडक आन्दोलनबाटै सबै छिनोफानो गर्छु भन्ने एमाओवादीको गञ्जागोल र अन्योलग्रस्त गन्तव्यले फेरि पुनः नेपाली जनता र मुलुकले दुःख पाउन लागेको भन्दै चिन्ता व्यक्त गरे ।
५ माघमा संविधान निर्माणको प्रक्रिया जुन बिन्दुमा पुगेको थियो त्यहीबाट वार्ता शुरु गर्न सत्तापक्ष तयार रहेको जानकारी दिँदै उनले प्रक्रिया शुरु भए पनि संवादको ढोका खुल्लै राखिएको बताए ।
ज्ञवालीले गणतन्त्र दिवसको अवसर पारेर १५ जेठमा नयाँ संविधान घोषणा गर्ने तयारीमा सत्तापक्ष रहेकाले यो ऐतिहासिक अवसर गुम्न नदिन विपक्षीसँग आग्रह गरे ।
उनले नेपाली कांग्रेसबाटै सरकारको नेतृत्वका बारेमा आलोचना भए पनि एमाले भने सरकारको विकल्प खोज्ने पक्षमा नरहेको धारणा राखेका थिए ।
रासस
