समाचारआइतबार, फाल्गुण १७, २०७१
श्रीलंकाले इंग्ल्याण्डलाई ९ विकेटले हरायो
जारी विश्वकप क्रिकेटमा संगकारा र थिरिमानेको शानदार ब्याटिङको सहयोगमा श्रीलंकाले इंग्ल्याण्डलाई ९ विकेटले पराजित गरेको छ ।
वेलिंग्टनको वेस्टप्याक स्टेडियममा भएको खेलमा इंग्ल्याण्डको ३०९ रनलाई पछ्याउँदै श्रीलंकाले ४७.२ ओभरमा एक विकेट गुमाउँदै ३१२ रन बनायो । श्रीलंककाका लागि संगकाराले ११७ र थिरिमानेले १३३ रन बनाए ।
संगकाराले ८६ बलमा १० चौका र तीन छक्काको मद्दतले ११७ रन बनाए भने थिरिमानेले १४३ बलमा १३ चौका र २ छक्का सहित १३९ रन बनाए ।
श्रीलंककाका आउट हुने एकमात्र ब्याट्सम्यान दिलशानले ५५ बलमा ४४ रन बनाए । जसमा उनले ४ चौका र दुई छक्का समेत हानेका थिए । दिलशानलाई अलीको बलमा मोर्गानले क्याचआउट गरेका थिए ।
यसअघि इंग्ल्याण्डले टस जितेर पहिलो ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३०९ रन बनाएको थियो ।
इंग्ल्याण्डका तर्फबाट जोसेफ रुटले राम्रो खेल प्रदर्शन गर्दै १०८ बलमा १२१ रन बनाए । उनले १४ चौका र २ छक्का हानेका थिए ।
बटलर ३९ रन बनाउँदै नट आउट रहे भने इयान बेल ४९ रनमा आउट भए । त्यसैगरी मोइन अली १५ रन, ग्यारी ब्यालान्स ६, मोर्गान २७ र टेलर २५ रन बनाएर आउट भएका थिए ।
यो प्रतियोगिता अघि विश्वकपको इतिहासमा इंग्ल्याण्ड र श्रीलंकाबीच भएका ७ प्रतियोगितामध्ये ४ मा इंग्ल्याण्डले जीतेको थियो ।
