समाचारसोमबार, फाल्गुण १८, २०७१

स्वाइन फ्लु सन्त्रासले विद्यालय बन्द

हिमालखबर

एक पछि अर्को विद्यार्थी विरामी हुन थालेपछि गोरखाको बिरेञ्चोकमा रहेको रत्नराज्य उमावि बन्द भएको छ ।

१७ फागुन बिहान १० बजे प्रार्थना सभा सकेर कक्षा कोठाभित्र पढ्न पुगेका छात्रछात्रा छट्पटाएर ढलेपछि अनिश्चितकालका लागि विद्यालय बन्द गरिएको हो ।

बिरामी विद्यार्थीको गोरखा जिल्ला अस्पतालमा उपचार गराउँदा चिकित्सकहरुले सरुवा रोग भएको जनाएपछि विद्यालय बन्द गरिएको प्रधानाध्यापक ध्रुव श्रेष्ठले जानकारी दिए ।

बिरामी विद्यार्थीलाई स्वाइन फ्लु रोग लाग्दा देखिने अधिकांश लक्षणहरु देखिएको जिल्ला अस्पताल गोरखाका चिकित्सक नारद थपलियाले जानकारी दिए ।

आवश्यक साधन नहुँदा के रोग लागेको हो भन्ने यकिन हुन नसकेको भन्दै डा थपलियाले विद्यार्थीको स्वास्थ्य जाँचको प्रतिवेदन नेसनल ल्याब काठमाडौँमा पठाएको बताए ।

विद्यालयले जिल्ला शिक्षा कार्यालय गोरखासँग अनुमति लिएर अनिश्चितकालका लागि विद्यालय बन्द गरेको जनाएको छ ।
“विद्यार्थीलाई के रोग लाग्यो यकिन हुन सकेन” प्रअ श्रेष्ठले भने, “डाक्टरहरुले सरुवा रोग हो भन्नु भएकाले विद्यालय बन्द गरियो ।”

कक्षा १० मा पढ्दै आएका छजना छात्रा र पाँचजना छात्र बिरामी भएको विद्यालयले जनाएको छ । बिरामी भएका अधिकांश विद्यार्थी १६ वर्षका छन् । उनीहरुको नाम भने गोप्य राखिएको छ ।

स्वाइन फ्लुको हल्लामात्रै भएकाले आत्तिनु नपर्ने जिल्ला स्वास्थ्य कार्यालय गोरखाका प्रमुख महेन्द्रध्वज अधिकारीले बताए ।
मौसम परिवर्तन भएकाले रुघा, खोकी लाग्नु सामान्य भएको उनको टिप्पणी छ । स्वाइन फ्लु लाग्न नदिन जिल्लामा उच्च सतर्कता अपनाएको अधिकारीको भनाइ छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>