समाचारसोमबार, फाल्गुण १८, २०७१
यातायात भाडा घटाउँदैनौः व्यवसायी, नघटाए कार्वाही: सरकार
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सरकारले सार्वजनिक सवारी साधनमा घटाएको भाडा दर लागू नगर्ने बताएको छ ।
महासंघका अध्यक्ष दिनेश भण्डारी मन्त्रालयले वैज्ञानिक भाडादर विपरीत एकपक्षीयरुपमा भाडा घटाएकाले कार्यान्वयन नगर्ने बताउँछन् ।
सरकारले २८ पैसा भाडा घटाउनुपर्नेमा एकैपटक रु एक भाडा घटाएर व्यवसायीलाई अवैज्ञानिक दबाब दिएको भण्डारीको भनाइ छ ।
भाडा नघटाउने व्यवसायीमाथि कारबाही हुन्छः विभाग
सरकारले सार्वजनिक सवारी साधनमा भाडा घटाएको तेस्रो साता बित्दा पनि व्यवसायीले त्यसलाई कार्यान्वयनमा नल्याएपछि यातायात व्यवस्था विभाग कानूनअनुसार कारबाहीको प्रक्रियामा अघि बढेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २६ माघमा सार्वजनिक यातायातको भाडा २।०३ प्रतिशत घटाएको थियो ।
व्यवसायीले अहिलेसम्म त्यसअनुरुपको भाडा नघटाएपछि विभाग कानूनीरुपमै अघि बढेर भाडा घटाउने प्रक्रियामा लागेको हो ।
“कारवाहीको प्रक्रियामा जान विभागले पहिलोपटक नेपाल राजपत्रमा भाडा घटेको सूचना प्रकाशित गरी सवारी तथा यातायात व्यवस्था ऐन–२०४९ अनुसार कार्यान्वयनमा लैजान खोजेको छ,” विभागका महानिर्देशक मधुसूदन बुर्लाकोटीले भने, “ऐनको दफा ९६ अनुसार राजपत्रमा आजभोलिमै सूचना प्रकाशन हुने र त्यसपछि पनि व्यवसायीले भाडा दर लागू नगरे विधि विधानअनुसार कारबाहीको प्रक्रियामा अघि बढ्छौँ ।”
नयाँ भाडा दरअनुसार चार किलोमिटरको दूरीमा व्यवसायीले रु १३ भन्दा बढी लिन पाउने छैनन् । बढी भाडा लिएको पाइएमा सचेत गराउने र नमानेमा ऐनअनुसारका अन्य कारबाहीका प्रक्रियामा प्रवेश गर्ने महानिर्देशक बुर्लाकोटीले बताए ।
“मन्त्रालयले नीतिगत निर्णय गरी नयाँ भाडादर कार्यान्वयनका लागि विभागलाई निर्देशन दिइसकेकाले कार्यान्वयनको काममा उसैले अग्रसरता लिनुपर्छ,” भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता इन्जिनियर देवेन्द्र कार्कीले भने ।
उपभोक्ताले भने इन्धनको मूल्य घट्दा पनि व्यवसायीले भाडा नघटाएर ठगी गरिरहेको गुनासो गरेका छन् ।
रासस
